काठमाडौं । चोटका कारण रिटायर्ड हर्ट हुनु परेपछि सर्वियन टेनिस स्टार नोभाक जोकोभिच अस्ट्रेलियन ओपनको सेमिफाइनलबाटै बाहिरिएका छन् ।
प्रतिस्पर्धात्मक पहिलो सेटमा अलेक्जेन्डर ज्वेरेभसँग हार बेहोरेपछि २४ पटकका ग्रान्डस्लाम च्याम्पियन जोकोभिच दोस्रो सेटका लागि कोर्टमा उत्रिन सकेनन् । उनको बायाँ खुट्टाको मांसपेशी च्यातिएको बताइएको छ । जोकोभिचले तनावपूर्ण टाइब्रेकरमा सुरुवाती सेट ६-७ को हार बेहोरेका थिए । मेलबर्न पार्कमा जोकोभिच र ज्वेरेभबीचको पहिलो सेट १ घण्टा २० मिनेटसम्म चलेको थियो ।
३७ वर्षीय जोकोभिच ११औं अस्ट्रेलियन ओपन उपाधि र समग्रमा कीर्तिमानी २५औं ग्रान्डस्लाम जित्ने लक्ष्यमा थिए । गत वर्ष फ्रेञ्च ओपनमा पनि उनले दाहिने घुँडाको चोटका कारण क्वार्टरफाइनल खेलमा वाक ओभर दिनुपरेको थियो ।
यससँगै दोस्रो वरियता प्राप्त ज्वेरेभ पहिलो पटक अस्ट्रेलियन ओपनको फाइनलमा पुगेका छन् । उनले उपाधिका लागि विश्व नम्बर १ इटालियन खेलाडी तथा डिफेन्डिङ च्याम्पियन यान्निक सिन्नर वा २१औं वरियता प्राप्त अमेरिकाका बेन सेल्टनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् । सिन्नर र सेल्टनबीचको दोस्रो सेमिफाइनल खेल आजै हुनेछ ।