च्याम्पियन्स लिग : लिभरपूलद्वारा लिल्ल पराजित

माघ ९, २०८१ |खेल ब्युरो
च्याम्पियन्स लिग : लिभरपूलद्वारा लिल्ल पराजित

काठमाडौं । च्याम्पियन्स लिगको गए रातिको खेलमा लिभरपूलले फ्रेन्च क्लब लिल्ललाई हराएको छ । लिभरपूलको एनफिल्ड रंगशालामा भएको खेलमा घरेलु टिम २-१ गोल अन्तरले विजयी भएको हो ।

मिडफिल्डर मोहम्मद सलाहले खेलको ३४ औं मिनेटमा नै इङ्लिस टोलीलाई अग्रता दिलाएका थिए । सलाहका लागि डिफेन्डर कर्टिस जोन्सले पास मिलाइदिएका थिए । सलाहको गोलसँगै पहिलो हाफमा लिभरपूल एक गोलले अघि थियो । दोस्रो हाफको ६२ औं मिनेटमा लिल्लको लागि जोनाथन डेविडले गोल गरेपछि खेल १-१ गोलको बराबरीको अवस्थामा पुगेको थियो । 

बराबरीको अवस्थाबाट हर्भे इलियटले गोल गरेर फेरि लिभरपूललाई अग्रता दिलाएका हुन् । घरेलु टिमले बायाँ साइडमा कर्नर पाएको थियो । सिमिकासको कर्नर प्रहारमा इलियटले गोल गरेका हुन् । यो सिजनाको च्याम्पियन्स लिगमा उनको यो नै पहिलो गोल हो । उनले च्याम्पियन्स लिगमा सन् २०२२ को अक्टोबरमा आयाक्सलाई गोल गरेपछि पहिलो पटक गोल गरेका हुन् ।

यसबीच खेलको ५९ औं मिनेटमा लिल्ल १० खेलाडीमा समेटिन पुग्यो । लिभरपूलका लुकास डियाजलाई फउल गरेपछि एइसा मेन्डीलाई रेफ्रीले दोहोरो पहेंलो कार्ड देखाएर मैदान बाहिर पठाएका थिए । लिल्लले गोल गर्दा नै १० खेलाडीमा समेटिएको थियो ।

गए रातिको जितसँगै च्याम्पियन्स लिगमा शतप्रतिशत जित कायम राख्ने एक मात्रै टोली लिभरपूल नै हो। आर्न स्लटको टोली लिभरपुलले इतिहासमा नै तेस्रो पटक च्यान्पियन्स लिगको सात खेलसम्म पनि हार बेहोरेको छैन् । यता फ्रान्सेली क्लब लिल्लले भने इंङ्लिस टोली विरुद्धका पछिल्ला सात खेलमा नै हार बेहोरेको छ । आर्न स्लट, क्लबको जिम्मेवरी सम्हालेयता पहिलो सात खेलमा जित दर्ता गर्ने दोस्रो प्रशिक्षक बनेका छन् । यसअघि बायर्न म्युनिखको प्रशिक्षक रहँदा हान्सी फ्लिकले पनि यस्तो कीर्तिमान बनाएका थिए ।

च्याम्पियन्स लिग अन्तर्गत नै गए राति भएको खेलहरूमा बोलोग्नाले बोरुसिया डर्टमन्डलाई हराएको छ । जर्मन क्लब डर्टमन्डले १५ औं मिनेटमा पेनाल्टी मार्फत् अग्रता बनाएको थियो । तर अग्रता जोगाउन नसक्दा दोस्रो हाफमै २-१ ले पराजित भएको हो । यो पराजयले उसले अंक तालिकाको चौथो स्थानमा पुग्ने अवसर गुमाएको छ । डर्टमन्ड अहिले १३ औं स्थानमा छ । बोलोग्ना भने २७ औं स्थानमा छ । 

उता, इटालीको युभेन्टस भने क्लब ब्रुगसँग गोलरहित बराबरीमा रोकिएको छ । खेलमा ५८ प्रतिशत समय बलमा नियन्त्रण बनाएको भए पनि युभेन्टसले गोल गर्न सकेन । युभेन्टस विरुद्ध क्लब ब्रुगका सात प्रयास पनि खेर गएका थिए ।



Enter Kantipur TV HD
Advertisement