विद्यालय तहका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप दिइने

माघ ९, २०८१ |नारायण किलम्बू
विद्यालय तहका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप दिइने

काठमाडौं । पाठेघरको मुखको क्यान्सर निवारण गर्ने लक्ष्यका साथ सरकारले यही माघ २२ गतेदेखि विद्यालय तहका छात्रालक्षित खोप अभियान सुरू गर्ने भएको छ । सन् २०३० सम्म महिलामा हुने पाठेघरको मुखको क्यान्सरको ९० प्रतिशत निवारण गर्ने लक्ष्यका साथ देशभरका १९ हजार विद्यालयका छात्रालाई क्यान्सर विरुद्धको एचपीभी खोप दिइने भएको हो ।

पाठेघरको मुखको क्यान्सरका बिरामीको संख्या बढ्दै गएपछि सरकारले विद्यालय तहका छात्रालक्षित पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान सुरू गर्न लागेको हो । कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राका लागि माघ २२ देखि फागुन ६ गतेसम्म खोप दिइने भएको छ । देशभर कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राको संख्या १६ लाख ८८ हजार छ । यस बाहेक विद्यालय छाडेका १० दखि १४ वर्ष उमेर समूहका १० प्रतिशत किशोरी छन् । विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त चीनमा बनेको यो खोप १७ लाख ७० हजार डोज ल्याइसकिएको छ ।

स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार नेपालमा हरेक दिन कम्तीमा ६ जना अर्थात् बर्सेनि २२ सयभन्दा बढी महिलामा पाठेघर मुखको क्यान्सर हुने गरेको छ । त्यसबाट हरेक दिन ४ जना महिलाको मृत्यु हुने गरेको छ । तल्लो पेट दुख्ने, अनियमित रगत बग्ने, रक्तअल्पता हुने लगायत पाठेघरको मुखको क्यान्सरका लक्षण हुन् ।

विशेषगरी ३० देखि ४९ वर्ष उमेर समूहका महिलामा पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । सरकारले फागुन महिनालाई पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ महिनाको रूपमा समेत मनाउने भएको छ । अहिलेसम्म नेपालमा प्रति १० महिलामा एक जनाको मात्र स्क्रिनिङ हुने गरेको छ । जनचेतनाको कमीकै कारण महिलाले पाठेघरको मुखको क्यान्सरको परीक्षण कम मात्रले गराउने गरेका छन् । अब खोप अभियानसँगै सचेतना बढाउन २७ हजार स्वास्थ्यकर्मी, ५४ हजार स्वयंसेवक र १५ हजार सुपरीवेक्षक परिचालित हुनेछन् ।

सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर निवारण गर्ने लक्ष्य सरकारले राखेको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement