काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर फोरमा पुग्ने चार टिमको टुंगो लागेको छ । आफ्नो अन्तिम खेलमा दोस्रो जित हात पारेर त्रिभुवन आर्मी क्लब सुपर फोरमा पुगेको छ। फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले कोशी प्रदेशलाई नौ विकेटले हराएको हो । आजको हारसँगै कोशी प्रतियोगिताबाट बाहिरिएको हो ।
बिहानको खराब आउट फिल्डका कारण खेललाई २० ओभरबाट सात ओभरमा झारिएको थियो। ढिलो सुरू भएको खेलमा आर्मीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङमा आएको कोशीकी रुविना क्षेत्री ५, काजल श्रेष्ठ शून्य र लकिता राजवंशी ५ रनमा आउट भए। स्मृतिले सर्वाधिक १४ रन बनाउँदा कोशीले सात ओभरमा पाँच विकेट गुमाएर ३६ रन बनायो। आर्मीकी मनिषा चौधरीले तीन विकेट लिइन्।
जवाफमा सम्झना खड्काले ३२ रन जोडेर आर्मीलाई जित दिलाएकी हुन्। उनले २३ बलमा ३२ रन बनाएकी हुन्। अन्जली विश्वकर्मा रनआउट भइ्न् । आजको जितबाट आर्मीले तीन खेलबाट चार अंक बनाएर नेट रन रेटका आधारमा समूह विजेता बनेको छ। यता कोशीको पनि तीन खेलबाट चार अंक नै छ। तर रन रेटमा पछि परेपछि तेस्रो स्थानमा समेटिएको कोशी अन्तिम चारमा पुग्नबाट बञ्चित भयो। उसले प्ले अफमा भोलि मधेशसँग खेल्ने तालिका छ।
आजै भएको दोस्रो खेलमा बागमतीले मधेशमाथि ७ विकेटको जित हात पार्यो। मधेशले दिएको ४१ रनको लक्ष्य बागमतीले ८० बल बाँकी रहँदै पुरा गरेको हो। यो जितसँगै बागमती पनि समूह बी बाट सुपर फोरमा पुगेको छ ।
बागमतीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मधेशले १५ ओभर पाँच बलमा सबै विकेट गुमाएर ४० रन मात्रै बनायो । मधेशका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउनै सकेनन् । साक्षी यादव र सरस्वती कुमारीले सर्वाधिक ६-६ रनको योगदान गरे । बागमतीका कन्चन श्रेष्ठले चार र विपिशा शाहीले दुई विकेट लिएपछि मधेश सस्तैमा समेटिएको हो ।
जवाफमा बागमतीले ४१ रनको लक्ष्य ६ ओभर चार बलमै पुरा गरे पनि तीन विकेट गुमायो । यशु पाण्डेले सर्वाधिक १९ रन बनाइन भने कन्चन पनि नौ रनमै आउट भइन् । मधेशकी रोजी कडारीले एक विकेट लिइन् । आजको खेलसँगै बागमतीले तीन खेलबाट ४ अंक बनाएको छ। मधेशले अंकविहीन भएर बाहिरिएको छ।
सुपर फोरमा समूह बी बाट अघि बढेका टिमले समूह ए का दुई टिमसँग खेल्नुपर्ने हुन्छ। समूह ए बाट दोस्रो चरण पुगेका टिमले पनि समूह बी का दुई टिमसँग खेल्नेछन्। यी खेलपछि शीर्ष दुई स्थानमा रहने टिमले फाइनलमा उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् ।