काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा गोर्खा मिडियाका सञ्चालक पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश गरेको हो । जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, शतिशकृष्ण खरेल, अधिवक्ताहरू अपूर्व खतिवडा र रोचक रेग्मीले बहस गरेका थिए ।
जाहेरवालाका तर्फबाट ५ जना सरकारी वकिल, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका थिए । जोशी कास्की जिल्ला अदालतबाट धरौटिमा रिहा भएपछि हिजोमात्र काठमाडौं जिल्ला अदालत उपस्थित हुनुभएको थियो ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि ६० लाख धरौटी बुझाएर रिहा भइसक्नुभएको छ ।