खो खो विश्वकप : सेमिफाइनलमा नेपाली महिला टोलीले युगान्डासँग खेल्दै

माघ ५, २०८१ |खेल ब्युरो
खो खो विश्वकप : सेमिफाइनलमा नेपाली महिला टोलीले युगान्डासँग खेल्दै

काठमाडौं । खो खो विश्वकपको सेमिफाइनलमा आज नेपाली राष्ट्रिय महिला टिमले युगान्डासँग प्रतिस्पर्धा गर्दै छ । भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममामा खेल नेपाली समय अनुसार साझ पौने ५ बजे हुनेछ ।

हिजो भएको क्वार्टरफाइनलमा नेपालले इरानमाथि १०३-८ को फराकिलो अन्तरको जित हात पार्दै सेमिफाइनलमा स्थान बनाएको थियो । आज नेपाली टोली फाइनलमा स्थान बनाउने लक्ष्यमा हुनेछ ।

इरान विरुद्ध नेपालले टस जितेर सुरूआती अट्याकको निर्णय लिएको थियो । पहिलो टर्नमा ५० अंक हात पारेको नेपालले इरानलाई अंक जोड्ने कुनै अवसर नै दिएन । दोस्रो टर्नमा पनि नेपालले शानदार प्रदर्शन गर्‍यो । डिफेन्स अर्थात् दोस्रो टर्नको सुरूआती तीन मिनेटमा केबल ४ अंक सुम्पिएपछि नेपालले ड्रिम रन पूरा गर्‍यो । त्यसपछिका हरेक ३० सेकेन्डमा नेपाल ड्रिम रन मार्फत् एक-एक अंक जोड्न सफल भयो । नेपालले ड्रिम रन मार्फत् प्राप्त हुने सबै ८ अंक आफ्नो नाममा लेखायो । 

अट्याकमा रहेको इरानले आठ अंक मात्र जोड्न सक्यो । दोस्रो टर्नको समाप्तीमा ५८-८ ले अघि रहेको नेपालले तेस्रो टर्नमा अट्याक गर्दै उच्च प्रदर्शनलाई कायमै राख्यो । तेस्रो टर्नमा ३६ अंक जोडेपछि नेपालले समग्रमा ९४-८ को दूरी बनाएको थियो । 

कमजोर देखिएको इरानले आफ्नो अट्याकमा पनि अंक थप्न सकेन । नेपालले टर्न फोरमा डिफेन्स गर्दै ८ ड्रिम रन प्राप्त गर्‍यो । यससँगै नेपालले १०३-८ को सानदार जितका साथ अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । जारी विश्वकपमा महिला टिम अपराजित छ ।



Enter Kantipur TV HD
Advertisement