काठमाडौं । आईसीसी महिला यू-१९ टी ट्वेन्टी विश्वकपमा बंग्लादेशले टस जितेर नेपाल विरुद्ध फिल्डिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपाली टोली ब्याटिङका लागि मैदानमा उत्रँदै छ ।
दोस्रो संस्करणको यू-१९ टी ट्वेन्टी महिला विश्वकप आजदेखि मलेसियामा सुरू भएको हो । वाईएसडी-यूकेएम क्रिकेट ओभल, बांगीमा हुने यस खेलसँगै नेपाले विश्वकपमा डेब्यू समेत गर्दैछ ।
नेपाल र बंगलादेशको महिला यू-१९ टोली हालसम्म एक पटक मात्रै एक–अर्का विरुद्ध मैदानमा उत्रिएका छन् । यू-१९ महिला एसिया कप अन्तर्गत सुपर फोरको उक्त खेलमा नेपाल ९ विकेटले पराजित भएको थियो । वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको लक्ष्य बंगलादेशले ७ बल बाँकी रहँदै १ विकेट गुमाएर पूरा गरेको थियो । आज नेपाल सोही हारको बदला लिने लक्ष्यमा हुने छ ।
विश्वकपमा सहभागी १६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । नेपाल सम्मिलित समूह ‘डी’मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् । नेपालले दोस्रो खेलमा माघ ७ गते स्कटल्यान्ड र ९ गते अस्ट्रेलिया विरुद्ध खेल्ने छ ।