रूस र इरानद्वारा रणनीतिक साझेदारी सन्धिमा हस्ताक्षर

माघ ५, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
रूस र इरानद्वारा रणनीतिक साझेदारी सन्धिमा हस्ताक्षर

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका इरानी समकक्षी मसूद पेजेश्कियानले रणनीतिक साझेदारी सन्धि सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । रूस भ्रमणमा पुग्नुभएको इरानी राष्ट्रपति पेजेश्कियानसँग क्रेमलिनमा पुटिनसँगको लामो वार्तापछि दुई नेताले रणनीतिक साझेदारी सन्धि सम्झौतामा हस्ताक्षर गरेको रूसी समाचार संस्था तासले जनाएको छ ।

पश्चिमा राष्ट्रको कडा प्रतिबन्धका बाबजुद पनि दुई देशले आफ्नो साझेदारीलाई अझ गहिरो बनाएको टिप्पणी भइरहेको छ । हस्ताक्षरपछि दुवै देशका अधिकारीले व्यापक रणनीतिक सहयोग सन्धिले व्यापार र सैन्य सहयोगदेखि विज्ञान, शिक्षा र संस्कृतिसम्मका सबै क्षेत्रलाई समेट्ने बताएका छन् ।

उक्त सम्झौताका कारण अमेरिकाको तनाव बढ्ने विश्वास गरिएको छ । रूस र इरान दुवैप्रति अमेरिकाको व्यवहार शत्रुतापूर्ण छ। पुटिनले सम्झौताको प्रशंसा गर्दै यसले रूस, इरान र सम्पूर्ण क्षेत्रको स्थिर र दिगो विकासको लागि वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले नवनिर्वाचित अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको शपथ ग्रहण समारोह र सन्धिमा हस्ताक्षरको समय बीचको कुनै सम्बन्ध नरहेको स्पष्ट पार्नुभएको रूसी सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै पेजेश्कियानले हस्ताक्षरपछि उक्त सम्झौताले आफूहरूलाई अघि बढ्नका लागि ठोस आधार सिर्जना गर्ने दाबी गर्नुभएको छ । उहाँले रूससँगको सम्बन्धलाई महत्त्वपूर्ण, संवेदनशील र रणनीतिक ठान्दै आफूहरू यस बाटोमा दृढतापूर्वक अघि बढिरहेको स्पष्ट पार्नुभयो ।

यस्तै अमेरिकातर्फ संकेत गर्दै पेजेश्कियानले बाहिरी शक्तिको उपस्थितिले तनाव बढिरहेको आरोप समेत लगाउनुभयो । फेब्रुअरी २०२२ मा युक्रेनमा रूसको आक्रमणपछि रूस र इरानबीचको सम्बन्ध बलियो भएको छ ।



Enter Kantipur TV HD
Advertisement