रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा, उपाधिका लागि बार्सिलोनासँग भिड्ने

पुस २६, २०८१ |खेल ब्युरो
रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा, उपाधिका लागि बार्सिलोनासँग भिड्ने

काठमाडौं । रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । गए राति सम्पन्न खेलमा र मालोर्कामाथि ३-० को जित सहज हासिल गर्दै रियलले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

किंग अब्दुल्लाह स्पोर्ट्स सिटीमा मालोर्काले सुरूको एक घण्टा उत्कृष्ट डिफेन्स मार्फत रियललाई दबाबमा राखे पनि त्यसलाई निरन्तरता दिन भने सकेन । रियलले डेडलक तोड्न ६३ औैं मिनेटसम्म प्रतीक्षा गर्नुपरेको थियो ।

जुड बेलिंघमले गोल गर्दै रियललाई सुरूआती अग्रता दिलाएका थिए । रोड्रिगोको हेडर पोस्टमा लागेर फर्किएपछि केलियन एम्बाप्पेको प्रहार मालोर्काका गोलरक्षक डोमिनिक ग्रिफलले जोगाएका थिए । तर रिबाउन्डमा प्राप्त अवसरमा बेलिंघमले गोल गरे । 

अतिरिक्त समयको दोस्रो मिनेटमा मार्टिन भाल्जेन्टले आफ्नै पोस्टमा आत्माघाती गोल गरेपछि रियलले उपहार गोल मार्फत अग्रता दोब्बर पार्यो । त्यसको ३ मिनेट पछि रोड्रिगोले गोल गर्दै रियललाई ३-० को सहज जित दिलाए । योसँगै कार्लो एन्सेलोटीको टोलीले १४ औं पटक स्पेनिस सुपर कपको उपाधि जित्दै कीर्तिमान बराबरी गर्ने सम्भावनालाई जीवित राखेको छ ।

फाइनलमा रियलले उपाधिका लागि बार्सिलोना विरुद्ध खेल्ने छ । रियल र बार्साबीचको ‘एल क्लासिको’ फाइनल किंग अब्दुल्लाह स्पोर्ट्स सिटीमा आइतबार राति खेलिने छ ।



Enter Kantipur TV HD
Advertisement