काठमाडौं । बोर्डर-गावस्कर ट्रफीअन्तर्गत चौथो टेस्टमा अष्ट्रेलियन एक सय ८४ रनले वियजी भएको छ । खेल रोमाञ्चक अवस्थामा पुगेको अन्तिम दिनको खेलमा भारतलाई एक सय ५५ रनमा नै अलआउट गरेर अष्ट्रेलया विजयी भएको हो । हिजो चौथो दिनको खेल सकिँदा अष्ट्रेलियाले भारतविरुद्ध ३ सय ३३ रनको अग्रता बनाएको थियो ।
मेलबर्नमा आज बिहान दोस्रो इनिङ्समा ९ विकेट गुमाएर २ सय २८ रन बनाएको अवस्थाबाट खेल सुरु भएको हो । दशौं विकेटका रुपमा नाथन ४१ रन बनाएर बुमराहको बलमा बोल्ड भए । अष्ट्रेलियाले आज ६ रन मात्रै थप्न सक्यो । मार्नस लाबुसेनले सर्वाधिक ७० रन बनाए । दोस्रो इनिङ्समा नै शतकीय अग्रता बनाएको अस्ट्रेलियाका लागि कप्तान प्याट कमिन्सले ४१ रन जोडे ।
भारतका बुमराह एक्लैले २४ ओभर चार बल बलिङ गरेर पाँच विकेट लिए । मोहम्मद सिरजको नाममा तीन विकेट रह्यो । जितको लागि भारतले आज तीन सय ४० रनको लक्ष्य पाएको थियो । तर उसले सुरुआत राम्रो गर्न सकेन । रोहत शर्मा ९, केएल राहुल शून्य र विराट कोहली ५ रनमा आउट भए ।
तीन विकेट गुमाउँदा भारतले ३३ रन मात्रै बनाएको थियो । यसश्वी जैसवाल ८४ रन र ऋषभ पन्तले ३० रन बनाए पनि जितको लागि पर्याप्त हुन सकेन । बाँकी सबै खेलाडी सस्तैमा बाहिरिएका थिए । अष्ट्रेलियाका प्याट कमिन्स र स्कट बोलान्डले समान तीन-तीन विकेट लिएका थिए । नाथनले एक विकेट आफ्नो नाममा गरेका थिए ।
अष्ट्रेलियाले पहिलो इनिङमा चार सय ७४ रन बनाएको थियो भने दोस्रो इनिङमा दुई सय ३४ रन बनाएको थियो । भारत पहिलो इनिङमा ३ सय ६९ रनमा अलआउट भयो । सो इनिङमा नितिश रेड्डीले एक सय १४ रन बनाए । यससँगै अस्ट्रेलियाले पहिलो इनिङ्समा एक सय ५ रनको अग्रता राखेको थियो । उसका लागि कमिन्स, बोल्याण्ड र नाथनले समान ३-३ विकेट लिएका थिए । दुई देशबीचको ५ खेलको टेस्ट सिरिजमा हाल अष्ट्रेलिया २-१ ले अघि छ ।