सिचुआन एअरलाइन्सको चार्टर्ड विमान पोखरामा

पुस ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
सिचुआन एअरलाइन्सको चार्टर्ड विमान पोखरामा

कास्की । सिचुआन एअरलाइन्सको चार्टर्ड विमान पोखरा अवतरण गरेको छ । ड्रागन बोट रेसका लागि १२८ जना चिनियाँ खेलाडी र अफिसियलहरू बोकेर आएको विमान पोखरा अवतरण गरेको हो ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एशोसिएशन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एशोसिएशनको सह-आयोजनामा पर्यटकीय राजधानी पोखरामा आगामी आइतबार र सोमबार दोस्रो ड्रागन बोट फेस्टिबल आयोजना हुँदै छ ।

प्रतियोगितामा नेपालका ११, चीनका ८ र सिंगापुरका एक गरी २० वटा समूहको सहभागिता रहने छ । २०० मिटर र ५०० मिटर दूरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दुरीका प्रथम हुने विजेता समूहले पाँच हजार डलर, उपविजेताले दुई हजार डलर, तृतीयले एक हजार २०० सय डलर पुरस्कार प्राप्त गर्नेछन् ।

त्यसैगरी, सहभागी बाँकी १७ वटा समूहलाई प्रति समूह ५०० डलर पनि प्रदान गरिनेछ ।

ड्रागन बोटको दोस्रो संस्करण पनि फेवातालमै हुनेछ । चीन सरकारकै अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन बोट फेस्टिबल सम्पन्न भएको थियो ।

चीनले यस खालका प्रतियोगिता विश्वका ५० वटा देशमा आयोजना गर्ने गरेको छ । चीनमा प्रचलित लुनार क्यालेन्डरको पाँचौं महिनाको ५ गते चीनमा ड्रागन बोट फेस्टिबल आयोजना हुन्छ । चिनियाँ भाषामा 'दुवान उ ज्य' भनिने ड्रागन बोट फेस्टिबल चीनको चार वटा ठूला चाडमध्ये एक हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement