पोखरा । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको कास्की जिल्ला अदालतमा बयान जारी छ ।
लामिछानेसहित पूर्वडीआईजी एवम् गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लीला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्णबहादुर गुरुङको बयान आजदेखि सुरु भएको हो ।
उनीहरुको पेसी न्यायाधीश नितिज राईको इजालासमा तोकिएको छ । हिजो लामिछानेसहित ४४ जनाविरुद्ध पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पुरक मुद्दा दर्ता भएको थियो । थुनामा रहेका पाँच जना प्रतिवादीहरुको बयान आजदेखि सुरु भएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो । फरार अन्य प्रतिवादीका हकमा भने कानुनबमोजिम म्याद जारी गरिने छ ।
बयान कति दिन लम्बिन्छ भन्ने यकिन गर्न नसकिने अधिकारीको भनाइ छ । बयान सकिएपछि प्रतिवादीलाई थुनामा राखेर मुद्दा अघि बढाउने वा धरौटीमा छाड्ने भन्नेबारे थुनछेक बहस हुने छ । थुनछेक बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा निर्णय गर्ने बताएको छ । त्यसपछि मात्रै मूल मुद्दा अघि बढ्नेछ । मुद्दा दायर भएसँगै रास्वपा सभापति लामिछाने प्रतिनिधिसभा सदस्यबाट निलम्बित हुने भएका छन् ।
सम्पत्ति शुद्धीकरणको अभियोग दर्ता हुनासाथ सार्वजनिक पदमा रहेको व्यक्ति स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ । रवि लगायतको समूहमाथि विभिन्न सहकारीको बचत ठगी गरेको आरोपमा एक अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी सहित सहकारी ठगी मुद्दा दायर भएको हो ।
अभियोग लागेको मध्ये सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ, प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याल, देवकुमार नेपालीलगायत पुर्पक्षका लागि थुनामै छन् भने सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनका दाई भूपेन्द्र राई, अहिलेका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेशकुमार पुन, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, सृष्टि मानन्धर, ऋण अधिकृत बुद्धि गुरुङ भने फरार छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा रवि लामिछानेको हकमा २७ करोड ७९ लाख ४४ हजार ७ सय पाँच रुपैयाँ बिगो माग दाबी गरिएको छ ।