काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको कार्ययोजना बनाएर १५ दिनभित्र पेस गर्न सरोकारवाला निकायहरुलाई निर्देशन दिनुभएको छ ।
त्रिभुवन विमानस्थलमा देखिएका समस्या र सुधारका योजनाबारे आज सरोकारवाला निकायहरुसँगको छलफलमा मन्त्री पाण्डेले कार्ययोजना बनाएर अगाडि बढ्न आवश्यक रहेको बताउनुभएको हो । उहाँले कार्ययोजना बनेपछि कार्यान्वयन गर्न सम्बन्धित निकायलाई पठाइने र सरकारका तर्फबाट सबै किसिमका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री पाण्डेले विमानस्थललाई उच्च प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभयो । उहाँले ४६ लाख यात्रुको ओहोरदोहोर गर्ने क्षमताको विमानस्थल टर्मिनलमा प्रविधिको उच्चतम प्रयोग गर्नुको विकल्प नभएको बताउनुभयो ।