कास्की जिल्ला अदालतमा आजबाट रवि लामिछानेको बयान हुँदै

पुस ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
कास्की जिल्ला अदालतमा आजबाट रवि लामिछानेको बयान हुँदै

कास्की । पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम रास्वपा सभापति रवि लामिछानेको आजदेखि बयान सुरू हुने भएका छ । हिजो मात्रै रवि सहित ४४ जना विरुद्ध सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पुरक मुद्दा दर्ता भएपछि आजदेखि कास्की जिल्ला अदालतले बयान लिन लागेको हो ।

अभियोग दर्ता भएका प्रतिवादीहरूमध्ये कास्की प्रहरीको हिरासतमा रहेका रवि सहित गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल सहित थुनामा रहेका प्रतिवादीहरूको बयान आजदेखि शुरु गरिने कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो । मुद्दामाथि आजै पेशी चढेर अदालत खुल्नासाथ न्यायाधीशहरूले गोला तानेपछि बयान सुरू हुने उहाँले बताउनुभयो ।

फरार अन्य प्रतिवादीहरूको हकमा भने कानुन बमोजिम म्याद जारी गर्ने काम अगाडि बढ्ने जनाइएको छ । बयान कति दिन लम्बिन्छ भन्ने यकिन गर्न नसकिने अधिकारीको भनाइ छ । बयान सकिएपछि आरोपितहरूलाई थुनामा राखेर मुद्दा अघि बढाउने वा धरौटीमा छाड्ने भन्नेबारे थुनछेक बहस हुनेछ । थुनछेक बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा निर्णय गर्ने बताएको छ । त्यसपछि मात्रै मूल मुद्दा अघि बढ्ने जनाएको छ ।

अदालतमा हिजो मुद्दा दायर भएसँगै रास्वपा सभापति लामिछाने प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका छन् । सम्पत्ति शुद्धीकरणको अभियोग गर्दा हुनासाथ सार्वजनिक पदमा रहेको व्यक्ति स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ । रवि लगायतको समूहमाथि विभिन्न सहकारीको बचत ठगी गरेको आरोपमा एक अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी सहित सहकारी ठगी मुद्दा दायर भएको हो । रवि सहित १९ जना विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अभियोग दर्ता भएको छ ।

अभियोग लागेका मध्ये सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याल, देवकुमार नेपाली लगायत पुर्पक्षका लागि थुनामै छन् भने सहकारीका पूर्वअध्यक्ष जीबी राई, उहाँकै दाइ भूपेन्द्र राई, अहिलेका अध्यक्ष तथा व्यवस्थापक समेत रहेका थानबहादुर बुढा, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेशकुमार पुन, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, सृष्टि मानन्धर, ऋण अधिकृत बुद्धि गुरुङ भने फरार छन् ।

सम्पत्ति शुद्धीकरण कसुर अभियोग लागेका रवि लामिछानेको हकमा २७ करोड ७९ लाख ४४ हजार ७ सय पाँच रुपैयाँ, छविलाल जोशीलाई ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ, रामबहादुर खनालको हकमा १४ करोड ३० लाख ५१ हजार ९११ र लिला पछाईको हकमा २४ करोड ६७ लाख रुपैयाँ बिगो माग गरिएको छ । त्यसैगरी रविले अपचलन गरेको भनेर तीन करोड ३७ लाख ६५ हजार, छविलाललाई पाँच करोड २६ लाख, दीपेश पुनलाई दुई करोड १४ लाख गरी छुट्टाछुट्टै व्यक्तिगत दायित्व कायम गरिएको छ ।

चार जनालाई बिगो अनुसार दोब्बर जरिवाना र दुई वर्षदेखि १० वर्ष सम्म कैद सजायको माग दाबी रहेको छ । त्यसैगरी संगठित अपराधतर्फ रवि, छविलाल, दीपेश पुन समेत गरी २० जना उपर संगठित अपराध थप ५० प्रतिशतसम्मको सजाय दाबी गरिएको छ भने सहकारी ठगीमा आठदेखि १० वर्ष सम्म कैद सजाय र बिगो भराईको माग दाबी गरिएको छ ।

सूर्यदर्शन सहकारीको १८ हजार सात सय जना बचतकर्ता एक अर्ब ३५ करोड ५३ लाख ५४ हजार रकम अपचलन भएको छ । रकम अपचलनमा अहिलेसम्म विभिन्न व्यक्ति र संस्था गरी ६३ विरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.