एसियन च्याम्पियन्स लिगः अल-नासर र अल सद्द क्वार्टरफाइनलमा प्रवेश

फाल्गुन २७, २०८१ |खेल ब्युरो
एसियन च्याम्पियन्स लिगः अल-नासर र अल सद्द क्वार्टरफाइनलमा प्रवेश

काठमाडौै । साउदी प्रो लिग क्लब अल-नासर एफसी एसियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । रियादमा गएराति सम्पन्न खेलमा इरानी क्लब एस्तेग्लालमाथि ३-० को जित हात पार्दै नासर अन्तिम आठमा पुगेको हो ।

झोन डुरानले दुई तथा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत् गोल गरेपछि अल-नासरले सहज जित हात पारेको हो । खेलको आधाभन्दा बढी समय एस्तेग्लाल १० खेलाडीमा सिमित थियो ।

खेलको नवौँ मिनेटमै कोलम्बियन फरवार्ड झोन डुरानले एस्तेग्लालका गोलरक्षक सैयद होसेन होसेनीको गल्तीको फाइदा उठाउँदै २५ मिटर टाढाबाट अल-नासरका लागि पहिलो गोल गरे ।

खेलको २७ औँ मिनेटमा सादियो मानेमाथि मोहमद निकनासले गरेको खराब ट्याकलका कारण अल-नासरले पेनाल्टी पायो । उक्त अवसरलाई रोनाल्डोले सजिलै गोलमा परिणत गरे । खेलको पहिलो हाफ सकिनुअघि नै एस्तेग्लाल १० खेलाडीमा सिमित भयो । मेहरान अहृमादीले मोहमद अल-फातिलको अनुहारमा प्रहार गरेपछि दोस्रो पहेालो कार्ड पाउँदै मैदानबाट बाहिरिए ।

खेलको ८४ औँ मिनेटमा डुरानले दोस्रो गोल गर्दै अल-नासरको जित पक्का गरे । उनले डिबक्सको छेउबाट हानेको बल सिधै गोलमा परिणत भएको थियो । यसअघि तेहरानमा भएको पहिलो लेगमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए ।

यसैगरि अल-सद्द पनि एएफसी एसियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अल-सद्दले प्रिक्वार्टरफाइनलको दोस्रो लेगमा अल-वासलमाथि तीन-एकको जित हात पारेको हो ।

पहिलो हाफमै तीन गोल गर्दै खेल आफ्नो पक्षमा पारेको अल-सद्दले समग्रमा चार-दुईको नतिजासहित अन्तिम ८ मा प्रवेश गरेको हो । अल-वासलले सुरुवाती अग्रता जोगाउन सकेन ।

ब्राजिलियन फारवार्ड फाबियो लिमाले १०औँ मिनेटमा एलेक्सिस पेरेजको पासमा पहिलो टचमै गोल गर्दै अल-वासललाई सुरुवाती अग्रता दिलाए । त्यसको १६ मिनेटमा अल-सद्दले बराबरी गोल फर्कायो । अक्राम अफिफले गोललाईन नजिकबाट उत्कृष्ट पास दिएपछि मोस्तफा मशालको प्रहारले जाली चुमेको थियो । 

३०औँ मिनेटमा युसेफ अटलले गोल गर्दै अल-सद्दलाई अग्रता दिलाए । उनले लेफ्ट कर्नरबाट बल अघि बढाउँदै कडा प्रहार गरेका थिए । जुन अल-वासलका डिफेन्डर जुंग सेउंग-ह्यानको खुट्टामा लागेर गोलमा परिणत भयो ।

३७औँ मिनेटमा एसियन प्लेयर अफ द इयर अक्रम अफिफले फ्रिकिकमा गोल गरे । अफिफले २० मिटर टाढाबाट शानदार कर्भ हान्दै बललाई पोस्टको दिशा दिएका थिए । दोस्रो हाफमा दुवै टिमबाट थप गोल हुन नसकेपछि अल-सद्दले अन्तिम आठमा स्थान बनायो । क्वाटर फाइनल खेलहरू अप्रिल २५ देखि मे ३ मा हुने छन् ।



Enter Kantipur TV HD
Advertisement