काठमाडौं । जनकपुर बोल्ट्सका कप्तान अनिल साहले नेपाल प्रिमियर लिग (एनपीएल) का बाँकी खेल गुमाउने भएका छन् । जारी प्रतियोगितामा जनकपुरलाई क्वालिफायरमा पुर्याउन महत्त्वपूर्ण योगदान गरेका अनिलको हातमा चोट लागेको छ ।
अब जनकपुर टिमको कप्तानी आशिफ शेखले गर्ने छन् । नेपाली टिमका ओपनर समेत रहेका अनिलले लिगको पछिल्लो खेल भने खेलेका थिए । उनी सो खेलमा आठ रनमै आउट भएका थिए । त्यो खेलमा आउट हुँदा उनको हातमा चोट लागेको हो । अब उनको हातको शल्यक्रिया गर्नुपर्ने क्लबले जनाएको छ ।
जनकपुरका प्रशिक्षक पुबुदु दशानायकेले अनिलले अब एनपीएलको बाँकी खेलको दौरान खेलमा सहभागी बन्न नसक्ने जानकारी दिएका हुन् । अनिलले लिगको पहिलो खेलमा विराटनगर किंग्स विरुद्ध पाँच रन मात्रै बनाएको भए पनि दोस्रो खेलमा कर्णाली याक्स विरुद्ध अविजित ६२ रनको शानदार पारी खेलेका थिए । उनले पोखरा एभेन्जर्स विरुद्ध एक, लुम्बिनी लायन्स विरुद्ध ४५, सुदूरपश्चिम रोयल्स विरुद्ध शून्य र काठमान्डु गुर्खाज विरुद्धको खेलमा ११ रन बनाएका थिए । उनी जनकपुरको ओपनर ब्याटर हुन् ।
जनकपुरले लिग चरणका दुई खेलमा पराजय बेहोरेको भए पनि पाँच जित सहित १० अंक बनाएर क्वालिफायरमा पुगेको हो । उसले पहिलो क्वालिफायरमा भोलि सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ ।