माथिल्लो तामाकोशीबाट उत्पादन सुरू नभएसम्म औद्योगिक क्षेत्रमा साँझ विद्युत् कटौती हुने

पुस २, २०८१ |कान्तिपुर टीभी संवाददाता
माथिल्लो तामाकोशीबाट उत्पादन सुरू नभएसम्म औद्योगिक क्षेत्रमा साँझ विद्युत् कटौती हुने

काठमाडौं । ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरू नभएसम्म बढी विद्युत् माग हुने साँझको समय (पिक आवर) मा औद्योगिक क्षेत्रको विद्युत् कटौती हुने देखिएको छ । हिउँद लागेसँगै खोला तथा नदीहरूमा पानी घट्दा देशभित्रका नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाहरूको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने तर पिक समयमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत केही कटौती हुने भएको हो ।

चिसोका कारण यही समयमा विद्युत्‌को माग बढ्दो हुन्छ । यस्तोमा विद्युत् माग र आपूर्ति व्यवस्थापन गर्न भारतबाट विद्युत् आयात गर्नु पर्दछ । तर यही वर्ष ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन बन्द हुँदा हिउँदको पिक समयको विद्युत् व्यवस्थापनमा समस्या भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भयो ।

कार्यकारी निर्देशक घिसिङले पिक समयमा औद्योगिक बाहेक अन्य ग्राहकको विद्युत् आपूर्ति भने कटौती गर्नु पर्ने अवस्था नरहेको प्रष्ट पार्नु भयो । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण माथिल्लो तामाकोशीका संरचनामा क्षति पुगेको थियो । आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन सुरू गर्ने र त्यसको १५ दिनभित्रमा पिक समयमा चलाउने गरी माथिल्लो तामाकोशीको मर्मतसम्भार भइरहेको छ । विद्युत् माग कम हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई आगामी चैत २ गते (१५ मार्च २०२५)सम्म ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइन मार्फत ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनबाट ५४ मेगावाट गरी दैनिक रूपमा ६५४ मेगावाटसम्म विद्युत् आयात अनुमति दिएको छ । तर, पिक समय साँझ ५ देखि रातको ९ बजेसम्म भने विद्युत आयात गर्न नपाउने व्यवस्था छ । ३ चैत २०८१– १६ असार २०८२ (१६ मार्च–३० जुन २०२५)सम्म सोलार आवर अर्थात बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र आयात गर्न पाउने स्वीकृति दिइएको छ ।

कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशी पनि बन्द रहेको र पिक समयका ४ घण्टा भारतबाट विद्युत् आयात गर्न समेत नपाउँदा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती गर्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताउनु भयो । घिसिङले भन्नु भयो, “पिक समयमा आयात अनुमति पाएका छैनौं, माथिल्लो तामाकोशी सञ्चालनमा रहेको भए दिउँसो बढी आयात गरी तामाकोशीको जलाशयमा पानी जम्मा गरी पिक समयमा चलाउन सकिन्थ्यो,माथिल्लो तामाकोशीको मर्मत तीव्र गतिमा भइरहेको छ, आयोजना नआएसम्म औद्योगिक क्षेत्रमा पिक समयमा विद्युत् केही कटौती गर्नु पर्ने अवस्था छ ।”

गत शुक्रबार बिहान ढल्केबर–नवलपुर १३२ केभी प्रसारण लाइनको तार (कन्डक्टर) चुँडिदा ढल्केबर पश्चिमका बारा र पर्सा औद्योगिक करिडोरमा विद्युत् आपूर्ति प्रभावित भएको थियो । उक्त लाइनको मर्मत गरी सोमबार दिउँसोबाट सञ्चालनमा ल्याइएपछि विद्युत् आपूर्ति नियमित भएको छ । यसैगरी, दार्चुलाको चमेलियादेखि कैलालीको अत्तरियासम्मको १३२ केभी प्रसारण लाइनअन्तर्गत बैतडी खोचलेक भन्ने स्थानमा रुख ढलेर एउटा सर्किटमा क्षति पुगेको छ । उक्त लाइनको मर्मत भइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement