काठमाडौं । कुशल मल्ल, एनपीएलका आठ फ्रेन्चाइज टिममध्ये सबैभन्दा कान्छा कप्तान हुन् । २० वर्षका मल्लसँग राष्ट्रिय टिमबाट खेलेको अनुभव छ । एनपीएलअघि उनले भनेका थिए- सिनियर टिमबाट खेल्दै आएको छु, त्यही भएर मलाई विश्वास गरिएको होला ।
जारी प्रतियोगितामा घरेलु ब्याटरले अपेक्षा गरेअनुसार प्रदर्शन गर्न सकेका छैनन् । तर कुशलले भने आफ्नो टिम चितवन राइनोजलाई निरन्तर योगदान दिइरहेका छन् ।
चितवन राइनोजबाट खेलिरहेका इङल्यान्डका पूर्वखेलाडी रवि बोपाराले पनि आफूलाई कुशल मन पर्ने बताए । 'हामीलाई कुशलको कम्पनी एकदमै मन पर्छ,' उनले भने, 'लिगमा स्कोर पनि गरिरहेका छन् । उनी राम्रो खेलाडी हुन् ।'
बोपारा, पाकिस्तानका सोहेल तन्विर, शरद भेषावकर मल्लको कप्तानीमा खेलिरहेका छन् । प्रतियोगितापूर्व तुलनात्मक रुपमा कागजमा बलियो नमानिएको चितवनले ६ खेलमध्ये चारमा जीत हात पार्दै प्ले अफ संभावनालाई कायमै राखेको छ ।
जसमा मल्लले बलिङ र ब्याटिङ दुवैतर्फबाट योगदान गरिरहेका छन् । शनिबार महत्वपूर्ण खेलमा मल्लले कप्तानी इनिङस खेले । ५५ रनमा तीन विकेट गुमाएको चितवनको इनिङसलाई मल्लले, बोपारासँग मिलेर सम्हालेका थिए । उनले ४१ बलमा ७३ रनको योगदान गरे ।
जसमा तीन चौका र सात छक्का सामेल थियो । चौथो विकेटका लागि मल्ल र बोपाराले १ सय १३ रनको साझेदारी गरेपछि चितवनले १ सय ८१ को लक्ष्य दिएको थियो । आक्रामक ब्याटिङका लागि परिचित मल्लको एनपीएलमा यो पहिलो अर्धशतक हो ।
मल्ल हाल उच्च रन बनाउने खेलाडीको तेस्रो स्थानमा छन् । उनले सात इनिङसमा २ सय दुई रन जोडेका छन् । पोखरा एभन्जर्ससँग ३८, कर्णाली याक्सविरुद्ध २३, सुदूरपश्चिम रोयल्ससँग १३, लुम्बिनी लायन्ससँग २० र विराटनगर किंग्सविरुद्ध २५ रन प्रहार गरे । जनकपुर बोल्टसका मुख्य प्रशिक्षक पुबुदु दसानायके कुशलको प्रदर्शनबाट आफू खुसी रहेको प्रतिक्रिया दिए ।
'कुशलको प्रदर्शन देखेर म खुसी छु,' उनले भने, 'उनी चुनौती लिन्छन् । आज जित्नै पर्ने खेलमा चितवन दबाबमा थियो । तर कुशलले फ्रन्टमा रहेर टिमलाई सम्हाले । कप्तानको रुपमा पनि कुशल राम्रो देखिएका छन् ।'
बलिङमा पनि मल्लले आफ्नो प्रभाव जमाइरहेका छन् । जनकपुरसँग मल्लले दुई विकेट हात पारे । हर्ष ठाकर मल्लकै बलमा रन आउट भए । शुभ कंसाकारलाई १५ रनमा क्लिन बोल्ड गरेर मल्ल्ले चितवनलाई खेलमा फर्काएका थिए । उनले लिग चरणमा ८ विकेट लिइसकेका छन् ।
चितवनले जनकपुरमाथि जित हात पारेर शीर्ष चारमा रहने सम्भावना कायमै राखेको छ । र, त्यसका लागि अरु टिमको नतिजा पनि आफू अनुकूल आउनु पर्नेछ । के मल्लको टिम चितवन राइनोज प्लेअफमा पुग्ला ?