सुदूरपश्चिमको अपराजित यात्रा कायमै

मंसिर २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिमको अपराजित यात्रा कायमै
तस्वीर : चिरायु शाक्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । लुम्बिनी लायन्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिमले अपराजित यात्रा कायमै राखेको हो ।

यसअघि सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले तथा दोस्रोमा काठमान्डु गुर्खाजलाई ७३ रनले हराएको थियो । लुम्बिनी लायन्सले भने जारी प्रतियोगितामा जित हात पार्न सकेको छैन । आफ्नो तेस्रो खेलसम्म पनि लुम्बिनी जितविहीन छ । १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले आज नौ विकेट गुमाएर २० ओभरमा केवल १४२ रन मात्र बनायो ।

आज सुदूरपश्चिमको जितमा सैफ जैबले सर्वाधिक ९० रन बनाए । उनले ६१ बलमा ६ चौका र पाँच छक्काको मद्दतमा आक्रामक पारी खेल्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याए । सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेनले २३ तथा विनोद भण्डारीले १७ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले २०५.२६ को स्ट्राइक रेटमा अविजित ३९ रन बनाए ।

लुम्बिनीका लागि बलिङतर्फ रामोन सिम्मोन्ड्सले दुई विकेट लिए । रोहित पौडेल र विवेक यादवले समान एक विकेट लिए ।

ब्याटिङतर्फ लुम्बिनी पारीको सुरूआतमै धरमरायो । पाँच रनमै दुवै ओपनर गुमाएको लुम्बिनीका लागि विवेक यादवले उत्कृष्ट पारी खेल्दै आक्रामक रूपमा ५४ बलमा ७७ रन जोड्दै टोलीलाई सम्मानजनक स्थितिमा पुर्‍याए । उनको पारीमा सात छक्का र तीन चौका समावेश थियो । यस्तै सन्दीप जोराले २६ बलमा २० रन बनाए । कप्तान रोहित पौडेल पाँच रनमा पभेलियन फर्किए ।

सुदूरपश्चिमका स्कट कुगेलेजिनले दुई तथा ब्रान्डन म्याकमुलेनले तीन विकेट लिए । ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका जैबले बलिङमा पनि तीन विकेट लिए । अविनाश बोहोराले एक विकेट लिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement