काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा जारी छ । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८२ रन बनायो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले आक्रमक ब्याटिङ गर्दै २४ बलमा अविजित ५७ रन जोडे ।
त्रिवि क्रिकेट मैदानमा बिहान सुरूआती ब्याटिङ गर्न कठिन हुन्छ भन्ने मान्यतालाई जगत टमाटाको टिमले गलत साबित गरिदियो । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका थिए । सुदूरको सुरूआत सोचे जस्तो भने भएको थिएन ।
ओपनर अमित श्रेष्ठ इस्मात अलामको बलमा क्याच क्याट भएका थिए । एक रन बनाएका अमितको क्याच मार्टिन गप्टिलले लिएका थिए । अनिल खरेलले विनोद भन्डारीलाई २३ रनमा मैदान बाहिर पठाए । आरिफ शेख पनि नौ रनमा आउट भएका थिए । बसिर अहमदको बलमा निकलस क्रितनले शानदार क्याच लिए ।
पावर प्लेमा सुदूरपश्चिमले तीन विकेट गुमाएर ४३ रन जोडेको थियो । ब्रान्डन मेक्मलेनले २६ बलमा ३६ रन बनाएर आधार तयार पारे । सैफ जेबले १४ रन मात्र बनाउन सके । सुदूरले अन्तिम १० ओभरमा एक सय १४ रन जोडेको हो । इसान पान्डेले रन आउट हुनुअघि २१ रन थपे । दीपेन्द्रले २४ बलमा ५७ रनको योगदान गरे । उनले तीन चौका र पाँच छक्का प्रहार गरे । स्कट कुग्लेइनले १० रन जोडे ।
विराटनगरका लागि बलिङतर्फ अनिलले तीन विकेट लिए भने सन्दीप लगातार दोस्रो खेलमा विकेटविहीन रहे ।