सोहेल तान्विर : पाकिस्तानका पहिलो पुस्ताका टी ट्वेन्टी विशेषज्ञ बलर

मंसिर १८, २०८१ |खेल ब्युरो
सोहेल तान्विर : पाकिस्तानका पहिलो पुस्ताका टी ट्वेन्टी विशेषज्ञ बलर

काठमाडौं । इतिहासदेखि नै पाकिस्तानी क्रिकेट आफ्नो फास्ट बलिङ आक्रमणका लागि विश्वभर प्रख्यात छ । पाकिस्तानका घातक बलरहरूले विश्वभरका लिग खेल्दै आएका छन् । पाकिस्तानका पहिलो पुस्ताका टी ट्वेन्टी विशेषज्ञ बलरमध्ये एक सोहेल तान्विर अहिले नेपालको फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग (एनपीएल)मा व्यस्त छन् । तान्विरले चितवन राइनोजका लागि काठमान्डु गुर्खाज विरुद्ध पाँच विकेट लिए । उनी यस प्रतियोगितामा एकै इनिङमा पाँच विकेट लिने खेलाडीको रूपमा इतिहास रच्न समेत सफल भए ।

शोएब अख्तर, वसीम अक्रम र वकार युनिस जस्ता फास्ट बलरहरू उत्पादन गरेको पाकिस्तान विश्व क्रिकेटमा ‘फास्ट बलर्स फ्याक्ट्री’का नामले परिचित छ । तिनै फास्ट बलरमध्येका एक ३९ वर्षीय सोहेलले काठमान्डु गुर्खाज विरुद्ध चार ओभरमा २१ रन मात्रै खर्चिएर पाँच विकेट लिए । उनले मिचेल लेभिटलाई २५, स्टीफन इस्किनाजीलाई दुई तथा करण केसी, भीम सार्की र साहब आलमलाई समान १-१ रनमा पभिलियन फर्काए । काठमान्डुका कुनै पनि ब्याटरलाई सोहेलले पिचमा सेटल हुने अवसर नै दिएनन् । समग्रमा टी ट्वेन्टी फर्म्याटका चार सयभन्दा बढी खेल खेलेका सोहेलको अनुभवका सामु काठमान्डुका ब्याटर निरीह सावित भए ।

पेसमा भेरियसन र रंग फुटेड एक्सन भएका सोहेल तान्विर पाकिस्तानका लागि टी ट्वेन्टी विशेषज्ञ पहिलो पुस्ताका खेलाडीमध्ये एक हुन् । आईपीएलमा राजस्थान रोयल्स र रावलपिन्डी राम्सका लागि पाकिस्तानको घरेलु टी ट्वेन्टी लिग खेलेका सोहेलले विश्वभरका २० भन्दा बढी क्लबबाट खेलिसकेका छन् ।

पाकिस्तानका लागि तीन वटै प्रारूपको क्रिकेट खेलिसकेका उनले आफ्नो देशका लागि ५७ टी ट्वेन्टी अन्तर्राष्ट्रियमा ५४ विकेट लिएका छन् भने सबै खाले टी ट्वेन्टीमा तीन सय ८९ खेलको अनुभव बटुलेका बायाँ हाते पेसरको नाममा तीन सय ९४ विकेट छ ।

चितवनले आफ्नो दोस्रो खेल आज पोखरा एभेन्जर्स विरुद्ध खेल्दै छ । कुशल भुर्तेलको टोली विरुद्ध सोहेलले कस्तो बलिङ गर्ने छन्, हेर्न रोचक हुने छ ।



Enter Kantipur TV HD
Advertisement