काठमाडौं । नेपालमा मंसिर २२ गतेबाट काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप आयोजना हुने भएको छ ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिबल संघले मंसिर २२ देखि २९ गते सम्म त्रिपुरेश्वरस्थित राखेप कवर्ड हलमा उक्त प्रतियोगिता संचालन हुने छ । सिंगल राउण्डरोविन लिगको आधारमा सञ्चालन हुने प्रतियोगितामा नेपालको २ र विदेशी ३ गरि कुल पाँच टिमको सहभागिता रहने छ ।
एनभिए लिग विजेता टिम हेल्प नेपाल र उपविजेता गण्डकी प्रदेशले काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने छन् । यसबाहेक इरानका चादौर माले क्लव, भारतको क्यालीकट हिरोज र माल्दिभ्सका एचडिसि क्लव प्रतियोगितामा सहभागिता रहने संघले जनाएको छ । आर्थिक रुपमा निकै कमजोर रहेको भलिबल संघले करिब एक करोड लागतमा काभा पुरुष भलिबल संचालन गर्न लागेको हो ।
प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले २५ लाख अनुदान दिनेछ । बाँकी रकम प्रायोजक र टिकटबाट उठाएर आयोजना गरिने संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले बताए । प्रतियोगिताका लागि संघका पदाधिकारीहरुबाट करिब ७ लाख रकम समेत उठेको छ ।