एनपीएलका ८ टिमका ८ विदेशी खेलाडी कस्ता ?

मंसिर १४, २०८१ |सुवास रोकाया
एनपीएलका ८ टिमका ८ विदेशी खेलाडी कस्ता ?

काठमाडौं । २०८१ भदौ ३ गते नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिगको मिति घोषणा गर्दा सायदै कसैले सोचेको थियो कि प्रतियोगिता भब्य हुन्छ भनेर । एनपीएलले समग्र खेल क्षेत्रमै उत्साहको सिर्जना गरेको छ ।टेस्ट राष्ट्रदेखि ऐसोसियटका शीर्ष खेलाडी नेपालमा हुँदा पूरै देश क्रिकेटमय बनेको छ । 

एनपीएलको टिकट प्रि बुकिङ पनि सोल्डआउट भएको अवस्थामा स्तरोन्नति गरिएको टीयू क्रिकेट मैदान प्रतियोगिता आयोजना गर्न तयार छ । सहभागी सबै फ्रेन्चाइजहरुले समग्रमा ४० जना विदेशी खेलाडी अनुबन्धित गर्दा हरेक टिममा प्रभावशाली प्रदर्शनको अपेक्षा गरिएका ८ विदेशी खेलाडीका बारेमा आज हामी चर्चा गर्दैछौं ।

हालै मात्र क्रिकेटबाट सन्यासको घोषणा गरेका भारतका चर्चित खेलाडी शिखर धवन विश्व क्रिकेटका परिचित खेलाडी हुन् । मिस्टर आईसीसी र गब्बर उपनामले परिचित कर्णालीका बायाँ हाते ओपनर धवनले भारतीय टोलीबाट सन् २०१३ को च्याम्पियन्स ट्रफी तथा सन् २०१६ र २०१८ को एसिया कप जितेका छन् । त्यसैगरी आईपीएल टिम सनराइजर्स हैदराबादबाट आईपीएलको उपाधि पनि जितेका छन् । उनले भारतका लागि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६६ खेलबाट १ हजार ७ सय ५९ रन बनाएका छन् भने सबै खाले टी-२० मा ३ सय ३४ खेल खेल्दा २ शतक र ७० अर्धशतकसहित ९ हजार ७ सय ९७ रन बनाएका छन् ।

आईपीएलमा दोस्रो सर्वाधिक रन स्कोर गरेका धवनले विश्वकै सबैभन्दा लोकप्रिय क्रिकेट लिगमा ६ हजार ७ सय ६९ रन प्रहार गरेका छन् । धवनले आईपीएलमा दिल्ली क्यापिटल्स, डेक्कन चार्जर्स, सनराइजर्स हैदराबाद र पञ्जाब किङ्सबाट खेलिसकेका छन् ।

न्युजिल्यान्डका कीर्तिमानी ब्याटर मार्टीन गप्टिल एनपीएलको मेजर साइनिङ मध्ये एक हुन् । सन्दीप लामीछाने मार्की रहेको विराटनगरका लागि उनी सबैभन्दा महत्वपूर्ण खेलाडी हुन्। न्युजिल्यान्डबाट १ सय २२ टी-२० आई खेलमा २ शतकसहित ३ हजार ५ सयभन्दा धेरै रन बनाएका र आईपीएल, बीबीएल, पाकिस्तान सुपर लिग र क्यारेबियन प्रिमियर लिगमा आक्रामक ब्याटिङ गरिसकेका गप्टिल अनुभवी खेलाडी हुन् । गप्टिल आईसीसी प्रतियोगिताको नकआउट खेलमा दोहोरो शतक प्रहार गर्ने विश्वकै एक मात्र खेलाडी हुन् ।

न्युजिल्यान्डका ३४ वर्षीय अनुभवी ब्याटिङ अलराउन्डर जिमी नीशम जनकपुरबाट एनपीएल खेल्दैछन् । निसमले टी २० आईमा ७९ खेल खेल्दा ९ सय ४४ रन बनाएका छन् । उनले आईपीएल, बीबीएल, भाइटालिटी ब्लास्ट, द हन्ड्रेडलगायत थुप्रै फ्रेन्चाइज लिगहरू खेलेका छन् ।

नामिबियाका कप्तान जेरार्ड इरास्मस एसोसिएट राष्ट्र मध्येका उत्कृष्ट खेलाडी हुन् । २९ वर्षीय सफल अलराउन्डरको उपस्थितीले काठमाडौं गुर्खाजलाई बलियो बनाएको छ । उनले नामिबियाका लागि टी-२० आईमा ६५ खेलमा १ हजार ५सय ५७ रन बनाएका छन् भने सबैखाले टी-२० मा १ सय २५ खेल खेल्दा २ हजार १ सय ५१ रन बनाएका छन् । अफ ब्रेक बलिङ गर्ने उनले टी-२०आईमा ५३ विकेट लिएका छन् ।

चितवन राइनोजबाट नामिबियाका २३ वर्षीय ब्याटिङ अलराउन्डर जान निकोल लटी इटन र कुशल मल्लको विस्फोटक ब्याटिङ विपक्षी टोलीका लागि घातक हुन् सक्छ । विस्फोटक ब्याटर लफ्टी इटनले नामिबियाका लागि टी-२० आईमा ३९ खेल खेल्दा ४ सय १४ रन बनाएका छन् भने १२ विकेट पनि लिएका छन् । उनले कीर्तिपुरमा नेपालसँगै भएको टी-२०आई खेलमा ३३ बलमै शतक बनाएर कुशल मल्लको नाममा रहेको कीर्तिमान तोडेका थिए । त्यो कीर्तिमान पछि इस्टोनियाका साहिल चौहानले भङ्ग गरेका थिए ।

पोखरा एभेन्जर्समा अनुबन्धित दक्षिण अफ्रिकाका लागि यू-१९ विश्वकप खेलिसकेका आन्द्रेस गौस हाल अमेरिकी सिनियर टोलीबाट खेल्छन् । टी-२० विश्वकप २०२४ मा क्यानडा, पाकिस्तान, दक्षिण अफ्रिका र वेस्ट इन्डिजविरुद्ध विस्फोटक ब्याटिङ गरेका गौस पछिल्लो समय उत्कृष्ट लयमा छन् । गौसले टी-२०आईमा २३ खेल खेल्दा ६ सय ९२ रन बनाएका छन् ।

स्कटल्यन्डका २५ वर्षीय ब्याटिङ अलराउन्डर ब्रान्डन म्याकमुलन दायाँहाते ब्याटिङ सँगै मध्यम गतिको बल पनि गर्न सक्छन् । सुदूरपश्चिम रोयल्सबाट दीपेन्द्रसिंह ऐरीको कप्तानीमा म्याकमुलनको प्रदर्शन हेर्न लायक हुने छ । सन् २०२३ मा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका उनले १६ खेल खेल्दा ६ अर्धशतकसहित ३८ को औसतले ४ सय ९७ रन बनाएका छन् । १४८.८० को स्ट्राइक रेटमा ब्याटिङ गर्न सक्ने म्याकमुलनले २ अर्धशतक अस्ट्रेलियाजस्तो बलियो टोलीविरुद्ध प्रहार गरेका छन् ।

उता अस्ट्रेलियाका अलराउन्डर बेन कटिङले लुम्बिनीबाट खेल्दै छन् । ७ टी-२०आई मात्र खेलेको भए पनि उनले २ सय १२ टी-२० खेलमा १ सय ४५ को स्ट्राइक रेटले २ हजार ९ सय २१ रन बनाएका छन् । त्यसैगरी उनले १ सय ३७ विकेट पनि लिएका छन् । उनले अस्ट्रेलियाको चर्चित बिग ब्यास लिगदेखि आईपीएलसम्म खेलेका छन् । सन् २०१६ को आईपीएल हैदराबादले जित्दा उनी फाइनलको म्यान अफ दी म्याच भएका थिए ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement