एनपीएलले नेपाली क्रिकेट नयाँ युगमा

मंसिर १४, २०८१ |विनयज्योति सापकोटा
एनपीएलले नेपाली क्रिकेट नयाँ युगमा

काठमाडौं । नेपाल प्रिमियर लिगको उद्घाटन हुँदै गर्दा समर्थकमा छुट्टै किसिमको उत्साह छ । अहिले विद्यालय, कजेल, चिया पसलदेखि कार्यालयहरु सबैतिर एनपीएलको चर्चा छ । एनपीएल आयोजनासम्म आइपुग्दा नेपाली फ्रेन्चाइज क्रिकेटमा धेरै परीक्षण भए ।

धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग, एभरेस्ट प्रिमियर लिग र नेपाल टी-२० लिगको सफलता र असफलताको अनुभवलाई नेपाल प्रिमियर लिगमा प्रयोग भएको देखिने छ । यो प्रतियोगितासँगै नेपाली क्रिकेट नयाँ युगमा प्रवेश गर्ने विश्लेषण गरिएको छ । खेलकुदमार्फत देशको अर्थतन्त्र पनि चलायमान हुन्छ भन्ने प्रमाणित एनपीएलले गरेको छ ।

पछिल्लो समय पाएको सफलतालाई धरातल बनाएर नेपाली क्रिकेट अब खेल उद्यमका रुपमा विकास हुने अवस्थामा पुगेको छ । एनपीएलले नेपाली क्रिकेट र खेलकुद विकासको एउटा आधार प्रष्ट पार्दै लगेको छ । ७० को दशकको सुरुवाततिरै कैलालीका सुवास शाहीले सुदूरपश्चिमका केही स्थानीय नामका टोली निर्माण गर्दै पहिलो पटक क्रिकेट खेलाडीलाई अक्सनमा राखेर टिम बनाउने अनि सोहीअनुसार खेल हुने नयाँ शैलीको क्रिकेट प्रतियोगिता नेपालमा ल्याए । धनगढी प्रिमियर लिग-डीपीएल नाम दिइएको यो प्रतियोगिता नै नेपालमा आयोजना भएको पहिलो फ्रेन्चाइज क्रिकेट थियो ।

डीपीएल र एभरेष्ट प्रिमियर लिग हुँदै गर्दा सुरु भएको लिग हो- पोखरा प्रिमियर लिग, पीपीएल । यो लिग अहिले क्यानमा रहेका पारस खड्का, छुम्बी लामालगायतको स्वामित्वमा रहेको क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले गरेको थियो । तर पोखराको रंगशालामा हुने यो आर्थिक अभावका कारण निरन्तर हुन सकेन ।

नेपालकै पूर्वखेलाडी अमिर अख्तरको जोहरा ग्रुपले काठमाडौंमा आयोजना भएको एभरेसट प्रिमियर लिगले पनि क्रिकेटमा नयाँ आयाम थप्यो । दुई वर्षअघि क्यान आफैंले आयोजना गरेको नेपाल टी-ट्वान्टी लिग भने विवादित बन्यो । यसैबाट पाठ सिक्दै क्यानले एनपीएलको सुरुवात गरेको हो । धेरै आरोह अवरोह देखेको नेपाली क्रिकेटले अहिले भने लामो समयका लागि लिग पाएको विश्वास समर्थकले गरेका छन् । यो लिग नेपालको गेमचेन्जर हुने विश्वास गरिएको छ ।

आठ फ्रेन्चाइज टोलीले एनपीएलका लागि खुलेरै करोडौं खर्च गरिरहेका छन् । निजी क्षेत्रको पनि संलग्नता उत्साहजनक छ । क्यान र फ्रेन्चाइज टिमलले ठूलो रकमको प्रायोजक पाइरहेका छन् ।

नेपाल प्रिमियर लिगले अहिले यति धेरै चर्चा पाउनुका पछाडि निजी क्षेत्रको सहयोग भएर नै हो । तीन करोडभन्दा धेरैमा टिकट बिक्री, खेलाडीले कार पुरस्कार पाउने, विश्व क्रिकेटमा नाम चलेका खेलाडीलाई नेपालमा खेलाउने जस्ता स्वप्निल काम यत्तिकै सम्भव पनि त हुँदैन । यसकारणले पनि नेपाली क्रिकेट खेल उद्योगका रुपमा विकास हुने चरणमा प्रवेश गरेको छ।

एनपीएलको सुरुवातले क्रिकेट मात्र होइन अन्य खेललाई पनि उत्साहित बनाएको छ, आशा जगाएको छ । नेपाल प्रिमियर लिगले नेपाली खेलाडी र खेलप्रेमीलाई सुन्दर भविष्यको सपना देखाएको छ । हजारौं बालबालिकालाई क्रिकेटमा लाग्न प्रेरित गरेको यो प्रतियोगिताले नेपाली खेलकुदलाई व्यावसायिक बनाउन सहयोग गरिरहेको छ । दर्शक, निजी क्षेत्र, खेलाडी र आयोजक सबैलाई एकजुट बनाएको एनपीएलको अर्को संस्करण चाहिँ फ्लड लाइटमा हुने विश्वास सबैको छ ।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement