रोमा र टोटनमहले बाँडे अंक

मंसिर १४, २०८१ |खेल ब्युरो
रोमा र टोटनमहले बाँडे अंक

काठमाडौं । युरोपा लिग अन्तर्गत रोमा र टोटनहमले बराबरी खेल्दै अंक बाँडेका छन् । टोटनहम स्टेडियममा म्याट्स हमेल्सको लेट गोलले इंग्लिस क्लब विरुद्ध इटालियन क्लब रोमाले २-२ गोलको बराबरी खेल्दै हार टारेको हो ।

गत साता प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई ४-० ले हराएको टोटनहमले पहिलो हाफमै २-० को अग्रता बनाए पनि दोस्रो हाफमा समालिन नसक्दा अंक बाँड्न बाध्य भयो । पाँचौं मिनेटमा सन हृयुङ-मिनको पेनाल्टी मार्फत घरेलु टोली टोटनहमले अग्रता लिएको थियो । ३३ औं मिनेटमा डेजान कुलुसेभस्कीको पासमा ब्रेनन जोन्सनले गोल गर्दै टोटनहमको अग्रता दोब्बर पारे । दोस्रो हाफको नियमित समयसम्म टोटनहमले यो अग्रता जोगाए पनि अतिरिक्त समयको पहिलो मिनेटमै २ गोल बेहोरेपछि टोटनहम स्तब्ध बन्यो । ९१ औं मिनेटमा इभान एनडिनले गोल गर्दै रोमलाई खेलमा फर्काए । लगत्तै हमेल्सको गोल मार्फत रोमाले खेल बराबरी गर्यो ।

३५ वर्ष तीन सय ४८ दिनको उमेरमा गोल गरेका हमेल्स प्रमुख युरोपेली प्रतियोगितामा गोल गर्ने रोमाको दोस्रो सबैभन्दा पाका खेलाडी बने । यसअघि २०१४ मा रोमाका महान खेलाडी फान्सेस्को टोट्टीले ३८ वर्ष ५९ दिनको उमेरमा सीएसकेए विरुद्ध गोल गरेका थिए । बराबरीसँगै टोटनहम पाँच खेलमा १० अंक सहित तालिकाको नवौं स्थानमा छ । समान खेलमा ६ अंक जोडेको रोमा २१औं स्थानमा छ ।



Enter Kantipur TV HD
Advertisement