म्यानचेस्टर युनाइटेडद्वारा बोडो ग्लिम्ट पराजित

मंसिर १४, २०८१ |खेल ब्युरो
म्यानचेस्टर युनाइटेडद्वारा बोडो ग्लिम्ट पराजित

काठमाडौं । युरोपा लिगमा इंग्लिस टोली म्यानचेस्टर युनाइटेडले नर्वेजियन क्लब बोडो ग्लिम्टलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा युनाइटेडले बोडोलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

ओल्ड ट्राफोर्डमा युनाइटेडको नयाँ प्रशिक्षकको रूपमा रुबेन अमोरिमले विजयी सुरूआत गरेका हुन् । उनको प्रशिक्षणमा युनाइटेडले पहिलो पटक घरेलु मैदानमा खेलेको थियो । युनाइटेडको जितमा रासमुस होजलुन्डले दुई गोल गरे ।

प्रिमियर लिग अन्तर्गत अमोरिमको प्रशिक्षणमा इप्सविच विरुद्ध खेल सुरू भएको ८१ सेकेन्डमै अग्रता बनाएको युनाइटेडले यस खेलमा ४८ सेकेन्डभित्र गोल गर्दै अग्रता बनायो । बोडोका गोलकिपर निकिता हाइकिनले गल्ती गरेपछि होजलुन्डको सहयोगमा अलेजान्ड्रो गार्नाचोले सहजै गोल गरेका थिए । हाइकिनले बल क्लियरन्स गर्नुअघि गल्ती गर्दै होजलुन्डलाई अघि बड्ने मौका दिँदा प्राप्त पासमा गार्नाचोले ट्याप-इन गर्दै पोस्टको दिशा देखाए ।

तर युनाइटेडको अग्रता घेरै बेर टिक्न सकेन बोडोले चार मिनेटको अन्तरालमा दुई गोल गर्दै खेलमा पुनरागमन गर्‍यो । १९औं मिनेटमा हुकोन एब्जोनले गोदल गरेपछि भ्रमण टोली खेल बराबरी गर्न सफल भयो । त्यसको चार मिनेटपछि फिलिप जिङ्करनागेलको गोल मार्फत बोडाले २-१ को अग्रता बनाए । तर ४५औं मिनेटमा होजलुन्डले गोल गरेपछि युनाइटेड पहिलो हाफमा २-२ गोलको बराबरी गर्न सफल भयो ।

५० औं मिनेटमा होजलुन्डले व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले रोमाञ्चक खेलमा ३-२ को जित हात पार्यो । जितसँगै पाँच खेलमा ९ अंक जोडेको युनाइटेड १२ औं स्थानमा छ । समान खेलमा ७ अंक सहित बोडा १७ औं स्थानमा छ ।



Enter Kantipur TV HD
Advertisement