अन्डर-१९ एसिया कपमा आज नेपालले श्रीलंकाको सामना गर्दै

मंसिर १४, २०८१ |खेल ब्युरो
अन्डर-१९ एसिया कपमा आज नेपालले श्रीलंकाको सामना गर्दै

काठमाडौं । एसीसी पुरुष अन्डर-१९ एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ । यूएईको शारजाह क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बिहान पौने ११ बजेबाट सुरू हुने छ । दुबै टोली जित हात पार्दै प्रतियोगितामा सुखद् सुरूआत गर्ने लक्ष्यमा हुने छन् ।

प्रतियोगिताको अन्तिम तयारी स्वरूप हेमन्त धामीको कप्तानीमा नेपालले भारतको प्रादेशिक टोली कर्नाटकसँग पाँच खेलको एकदिवसीय अभ्यास सिरिज खेलेको थियो । सो सिरिज ३-२ ले जितेको नेपाली टोली उच्च मनोबलका साथ प्रतियोगितामा सहभागिता जनाउँदै छ ।

टेस्ट राष्ट्र श्रीलंकाको अन्डर-१९ टोली १० मध्ये पाँच पटक फाइनलसम्म पुगे पनि उपाधि जित्न सकेको छैन । बलियो टोली श्रीलंकालाई हराउन नेपालले उत्कृष्ट प्रदर्शन गर्नु पर्ने छ । हालसम्म आठ पटक एसिया कप खेलिसकेको नेपालको अन्डर-१९ टोली एक पटक मात्र २०१७ मा प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको थियो । पहिलो पटक नेपालको उमेर समूहको टोलीलाई सम्हालिरहेका शक्ति गौचनको प्रशिक्षणबाट क्रिकेट प्रशंसकले ठूलो अपेक्षा राखेका छन् ।

नेपाली युवा टोलीले हालसम्म श्रीलंका विरुद्ध जित हात पार्न सकेको छैन । सन् २०१६ एसिया कपमा नेपालले श्रीलंकालाई पराजित गर्ने राम्रो अवसर गुमाएको थियो । उक्त खेलमा नेपाल एक रनले पराजित भएको थियो ।

यस बाहेक आज हुने अर्को खेलमा अफगानिस्तान र साविक विजेता बंगलादेशका युवा टोली प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा एसियाका आठ देश सहभागी छन् । नेपाल रहेको समूह ‘बी’मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । समूह ए मा भारत, पाकिस्तान, जापान र यूएई छन् । नेपालले आफ्नो दोस्रो खेल १६ गते बंगलादेशसँग र तेस्रो खेल मंसिर १८ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।



Enter Kantipur TV HD
Advertisement