काठमाडौं । एसियन च्याम्पियन्स लिग एलिटको लिग चरणमा जापानको योकोहामा एफ मरिनोजले दक्षिण कोरियाको पोहाङ स्टिलर्सलाई २-० गोल अन्तरले पराजित गरेको छ । अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा घरेलु टोली योकोहामाले ४१औं मिनेटमा गोलको खाता खोलेको थियो । उसका लागि यान म्याथ्युजले गोल गरेका हुन् ।
दोस्रो हाफमा पनि पोहाङले पुनरागमन गर्न सकेन । इन्जुरी समयमा एन्डरसन लोपेजले पेनाल्टीमा गोल गर्दै योकोहामालाई जित दिलाए । तालिकाको तेस्रो स्थानमा रहेको जे वान लिग क्लबको पाँच खेलबाट १० अंक छ । १०औं स्थानमा रहेको पोहाङको ६ अंक छ । अर्का खेलमा दक्षिण कोरियाको ग्वान्जेओ एफसीले, चीनको साङघाई सेनुहामाथि १-० गोलको जित हात पार्यो । ग्वान्जेओ वर्ल्ड कप स्टेडियममा भएको खेलको पहिलो हाफमा गोल हुन सकेन । ५८औं मिनेटमा यासिर असानीले गरेको गोल नै घरेलु टिमको जितमा निर्णायक बन्यो ।
अल्बानियन असानी जारी सिजन यो प्रतियोगिताको उच्च गोलकर्ता सूचीको पहिलो स्थानमा छन् । उनको नाममा सात गोल पुगिसकेको छ । ग्वान्जेओ पाँच खेलबाट १२ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको जापानको भिजेल कोबेको १३ अंक छ । सेनुहा सात अंक जोड्दै छैटौं स्थानमा रहेको छ ।