च्याम्पियन्स लिग : बोरुसिया डर्टमन्ड विजयी

मंसिर १३, २०८१ |खेल ब्युरो
च्याम्पियन्स लिग : बोरुसिया डर्टमन्ड विजयी

काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गतको खेलमा बोरुसिया डर्टमन्डले घरेलु टिम डाइनामो जाग्रेबलाई ३-० गोल अन्तरले पराजित गरेको छ । जर्मन साइडको लागि ४१ औं मिनेटमा २० वर्षीय जेम्मी गिटन्सले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए ।

चेल्सी र म्यानचेस्टर सिटीका पूर्व विंगर गिटन्सको जारी सिजन च्याम्पियन्स लिगका पाँच खेलमा यो चौथो गोल हो । पहिलो हाफमा क्रोएशियन क्लब खेलमा फर्कन सकेन । ब्रेकपछि पनि डर्टमन्डले आफ्नो उच्च लयलाई कायमै राख्यो । ५६औं मिनेटमा रामी बेन्जिबाइनीले अग्रता दोब्बर बनाए । च्याम्पियन्स लिगमा उनको यो पहिलो गोल पनि हो । ९०औं मिनेटमा सेरहु गिरेसीको गोलसँगै डर्टमन्डले ३-० को जितका साथ खेल टुंग्यायो ।

यो नतिजापछि डर्टमन्ड शीर्ष आठमा सीधै छनोट हुने बाटोमा फर्किएको छ । चौथो स्थानमा रहेको बुन्डेसलिगा क्लबको पाँच खेलबाट १२ अंक छ । इटालीको युभेन्टस भने एस्टन भिल्लासँग गोलरहित बराबरीमा रोकिएको छ । एस्टन भिल्लाका मोर्गन रोजर्सले दोस्रो हाफको इन्जुरी समयमा गरेको गोल अफसाइड भएपछि घरेलु टोली जित हात पार्नबाट चुक्यो । भिल्ला सात खेलदेखि जितविहीन छ। बेन्फिकाले मोनाको माथि ३-२ गोलको रोमाञ्चक जित हात पार्‍यो । पीएसभीले भने शाख्तर डोनेस्कलाई ३-२ गोलले पराजित गरेको छ ।