काठमाडौं । ललित स्मृति एन्फा यू-१८ युथ लिगमा थ्रीस्टार क्लबले चर्च बोइज युवा क्लबसँग गोलरहित बराबरी खेलेको छ। दोस्रो लेगको अघिल्लो खेलमा लिगलिडर पुलिस क्लबलाई हराएको थ्रीस्टारले आज भने गोल गर्न सकेन ।
खेलको २० औं मिनेटमा चर्च बोइजका उर्गेन रुम्बाको प्रहार गोलकिपरले मुस्किलले बचाएका थिए। २७ औं मिनेटमा चर्च बोइजका रोमन गुरुङले दोस्रो बारतर्फ उत्कृष्ट प्रहार गरे पनि आयुश्मान लो तामाङले डाइभ गरेर गोल बचाएका थिए। खेलको २८औं मिनेटमा थ्री स्टारका रोमन श्रेष्ठले पोस्टभित्र अटेम्प्ट गरेको भए पनि गोलकिपर असिम खड्काले सहजै नियन्त्रणमा लिए। ३६ औं मिनेटमा पनि पवन श्रेष्ठ गोलमा असफल भए। खेल अवधिभरी दुवै टिमले गोलका धेरै अवसर सिर्जना गरेर उत्कृष्ट प्रहार गरेको भए पनि गोलकिपरले बचाएका थिए। निर्धारित समयभित्र दुवै टिमले गोल गर्न नसक्दा थ्री स्टारले चर्च बोइजसँग एक-एक बाँडेको हो ।
त्यसैगरी आजै भएको दोस्रो खेलमा भने खुमलटार युवा क्लब, न्यूरोड टिम एनआरटीसँग पराजित भएको छ। आजको जितसँगै २८ अंक बनाएको एनआरटी अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। एनआरटीलाई जित दिलाउन विनायक थारुले गोल गरे। एनआरटीका कप्तान कालीबहादुर थापाले पास मिलाइदिएको बल दिपेन राईले प्रहार गर्न नसकेपछि विनायकले गोल गरे। उनी डिफेन्डर सेन्जान्बु शेर्पाको मार्कमा रहे पनि गोल गर्न सफल भए । खेलमा यही अग्रता जोगाउँदै एनआरटी विजयी भयो ।