काठमाडौं । उरुग्वेका स्ट्राइकर लुइस स्वारेजले इन्टर मायामीसँगको सम्झौता नवीकरण गरेका छन् । मेजर लिग सकर क्लब मायामीले स्वारेजसँग अर्को सिजनका लागि पनि सम्झौता गरेको जानकारी दिएको हो ।
लिभरपूल, बार्सिलोना र एट्लेटिको मड्रिडबाट खेलिसकेका स्वारेज सन् २०२४ को सिजनका लागि गत डिसेम्बरमा मायामीमा आबद्ध भएका थिए । उनले पूर्व बार्सिलोनाका टिम मेट लियोनल मेसी, जोर्डी आल्बा र सर्जियो बुस्केटसँग मायामीमा ड्रेसिङ रूम शेयर गरिरहेका छन् । मायमीले नियिमत सिजन शीर्ष स्थानमा रहेर कीर्तिमानी ३४ खेलमा ७४ अंक जोड्दै टुंग्याएको थियो । जसमा स्वारेजले २७ खेलमा २० गोल गरेका थिए । तर प्ले अफको पहिलो चरणमा भने मायामी पराजित भयो ।
४० वर्षीय स्वारेजले मायामी आफ्नो करियरको अन्तिम क्लब हुने बताउँदै आएका छन् । उरुग्वेका लागि एक सय ४३ क्याप जितेका स्वारेजले गत सेप्टेम्बरमा अन्तिम पटक राष्ट्रिय टिमको जर्सी लागएका थिए ।