१५ वर्षपछि रियल मड्रिड विरुद्ध लिभरपूलको जित

मंसिर १३, २०८१ |खेल ब्युरो
१५ वर्षपछि रियल मड्रिड विरुद्ध लिभरपूलको जित

काठमाडौं । युएफा च्याम्पियन्स लिगमा लिभरपूलले १५ वर्षपछि रियल मड्रिड विरुद्ध जित हात पारेको छ । इंग्लिस प्रिमियर लिग क्लब लिभरपूल २-० गोल अन्तरले विजयी भएको हो ।

यसअघि भएका आठ भेटमा लिभरपूल स्पेनिस जायन्टलाई पराजित गर्न असफल भएको थियो । जसमा दुई पटक च्याम्पियन्स लिगको फाइनल पनि समावेश थियो । तर गए राति एनफिल्डमा भएको खेलमा आर्ने स्लटको टिमले मड्रिडमाथि दबाब बनायो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । मड्रिडका गोलकिपर टिबो कोट्वाले लिभरपूलका केही प्रहार बचाएका थिए । तर खेलको ५२औं मिनेटमा लिभरपूलका लागि एलिक्सिस माक आलिस्टारले गोल गरे ।

यो खेलमा विश्व फुटवलका दुई सुपरस्टार किलियन एम्बाप्पे र मोहम्मद सालाह पेनाल्टीमा चुके । ६१औं मिनेटमा मड्रिडका एम्बाप्पेले गोल गर्दै खेल बराबरी गर्ने सुनौलो अवसर पाएका थिए । लुकास भाकेजलाई एन्डी रबर्टसनले फाउल गरेपछि मड्रिडले पेनाल्टी पाएको थियो । तर फ्रेन्च स्ट्राइकरको प्रहार लिभरपूल गोलकिपर क्विभिन केलहरले बचाए ।

यस्तै ७०औं मिनेटमा सालाहको पेनाल्टी पनि बाहिरियो । तर लिभरपूलले आफ्नो अग्रता दोब्बर बनाउन धेरै समय कुर्नु परेन । ७६औं मिनेटमा सब्स्टिच्युट कोडी गाक्पोले रवर्टसनको क्रसमा हेडर गोल गर्दै लिभरपूललाई जित दिलाए । जारी सिजनको च्याम्पियन्स लिगमा लिभरपूलको पाँच खेलमा यो पाँचौ जित हो । शीर्ष स्थानमा उक्लिएको लिभरपूलको १५ अंक छ । कार्लोस एन्टोलोटीको टिमले भने पाँच खेलमा बेहोरेको यो तेस्रो पराजय हो । २४औं स्थानमा रहेको मड्रिडको मात्र ६ अंक छ । मड्रिडले २००९ यता लिभरपुल विरुद्ध पहिलो पटक हार व्यहोरेको हो ।