काठमाडौं । नेपालले पाकिस्तानमा जारी नेत्रहीन क्रिकेट विश्वकपमा तेस्रो हार ब्यहोरेको छ। आज भएको खेलमा नेपाल आयोजक पाकिस्तानसँग १० विकेटले पराजित भएको हो। पाकिस्तानको जितमा नैमत उल्लाहले उत्कृष्ट प्रदर्शन गरे।
पहिले ब्यटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १ सय रन बनाएको थियो। नेपालका लागि भरत थापाले ४६ बलमा ३९ रनको योगदान गरेका थिए भने अर्का ओपनर नरेश चौधरीले १७ रन बनाए। ओपनिङमा ४१ रनको साझेदारी गरेको भए पनि नेपालले राम्रो स्ट्राइक रेटमा खेल प्रदर्शन गर्न सकेन । त्यसपछिका दुर्गादत्त पौडेलले ६, पदम बडाइलाले ११ र मदन न्यौपानेले ८ रन मात्र बनाए। नेपाललाई सस्तैमा रोक्न हरुन खानले दुई विकेट लिए भने मोहम्मद सलमान, नैमत र कामरन अख्तरले १/१ विकेट लिए ।
जवाफमा नेपालले विकेटको डेडलक तोड्न सकेन। नैमतले ३० बलमा ७३ रन बनाए भने मोहम्मद सफदारले १४ बलमा २४ रनको योगदान गरेसँगै पाकिस्तान विजयी भयो। १ सय १ रनको लक्ष्य पुरा गर्न पाकिस्तानले ६ ओभर चार बल मात्रै मैदानमा बिताउँदा पर्याप्त भयो। यो जितसँगै पाकिस्तान चार खेलबाट ८ अंक बनाएर अंकतालिकाको शीर्षस्थानमा छ।
दोस्रो स्थानको श्रीलंका र बंगलादेशले पनि सेमिफाइनलमा स्थान बनाइसकेका छन् । भारतले अन्तिम समयमा आफ्नो नाम फिर्ता लिएको कारण नेपालले दुई खेल मात्रै जितेको भए पनि ६ अंक बनाएको छ। नेपालले बाँकी तीन खेल गुमाएको छ ।