काठमाडौं । यूईएफए च्याम्पियन्स लिगमा आज प्रिमियर लिग टोली लिभरपूलले साविक विजेता रियल मड्रिडलाई स्वागत गर्दै छ । एनफिल्डमा हुने खेल नेपाली समय अनुसार राति पौने २ बजे शुरू हुने छ ।
आफ्नो अघिल्लो खेलमा बायर लेभरकुसेनलाई ४-० गोल अन्तरले पराजित गरेको आर्ने स्लटको टोली लिभरपूल अहिले उच्च लयमा छ । प्रिमियर लिगमा पनि शानदार प्रदर्शन गरिरहेको लिभरपूल घरेलु लिगमा शीर्ष स्थानमा छ । च्याम्पियन्स लिगमा शानदार लयलाई निरन्तरता दिइरहेको लिभरपूलले चार खेलमा शत प्रतिशत नतिजा हात पारेको छ । आजको खेल जित्दै लिभरपूल तालिकाको शीर्ष स्थानमा उक्लिने योजनामा छ ।
यद्यपि डिफेन्डिङ च्याम्पियन मड्रिड विरुद्ध लिभरपूलको वास्तविक परीक्षण हुने छ । मड्रिड खास लयमा छैन तर यस प्रतियोगिताको सर्वाधिक सफल टोली कुनै पनि विपक्षी विरुद्ध उत्कृष्ट नतिजा हात पार्ने क्षमता राख्छ । स्टार खेलाडीहरूले भरिएको कार्लो एन्सेलोटीको टोलीले अपेक्षित प्रदर्शन भने गर्न सकेको छैन । च्याम्पियन्स लिगको आफ्नो अन्तिम खेलमा एसी मिलानसँग ३-१ को हारले टिमको आत्मविश्वासमा ठेस पुर्याएको छ ।
भिनिसियस जुनियरको चोटले मड्रिडलाई ठूलो झट्का दिएको छ । उनको खुट्टामा चोट लागेको छ । यस बाहेक रोड्रिगो, एडर मिलिटाओ, ड्यानी कार्भाजल, लुकास भाजक्वेज, ओरेलियन चुवामेनी र डेभिड अलाबा जस्ता प्रमुख खेलाडीहरू चोटको सिकार बन्दा स्पेनिस टोली केही समस्यामा हुने छ ।
ट्रेन्ट अलेक्ज्यान्डर-अर्नोल्ड चोटमुक्त हुनु लिभरपूलका लागि सुखद् समाचार हो । तर डिओगो जोटाको छातीमा चोट लागेको छ । कोस्टास सिमिकासले खुट्टाको समस्याका कारण यो खेल गुमाउने छन् ।
दुई टोली हालसम्म ११ पटक एक अर्का विरुद्ध मैदानमा उत्रँदा मड्रिडले सात जित सहित लिभरपूल विरुद्ध प्रभावशाली प्रदर्शन गरेको छ । एक खेल बराबरीमा सकिएको छ भने लिभरपूलले तीन खेल जितेको छ ।
प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपूल च्याम्पियन्स लिगमा चार खेलमा चार जित सहित १२ अंक सहित तेस्रो स्थानमा छ । आजको खेल जिते इंग्लिस टोली शीर्ष स्थानमा उक्लिने छ । ला लिगाको दोस्रो स्थानमा रहे पनि परिवर्तित स्वरूपको च्याम्पियन्स लिगमा भने मड्रिडले खास प्रदर्शन गर्न सकेको छैन । चारमध्ये दुई खेल जितेको साविक विजेता ६ अंक सहित २१औं स्थानमा छ । यस बाहेक च्याम्पियन्स लिगमा आज थप नौ खेल हुने छन् ।