नेत्रहीन विश्वकपमा नेपाल लगातार दोस्रो खेलमा पराजित

मंसिर ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेत्रहीन विश्वकपमा नेपाल लगातार दोस्रो खेलमा पराजित

काठमाडौं । चौंथो नेत्रहीन विश्वकपमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । पाकिस्तानमा जारी विश्वकपमा आज नेपाल बंगलादेशसँग ६७ रनले पराजित भएको हो। बंगलादेशका आरिफ हुसेनले अर्धशतक प्रहार गरे ।

पहिले ब्याटिङ गरेको बंगलादेशले तीन बल बाँकी रहँदै सबै विकेट गुमाएर एक सय ७९ रन बनाएको थियो। उसलाई ठूलो स्कोरमा पुर्याउन ओपनर आरिफले ३१ बलमा ६ चौकाको सहयोगमा ५४ रनको बनाए । अर्का ओपनर मोहम्मद सलमानले ३४ रन जोडे। अबिद हसन राब्बीले २६ रनको योगदान दिए । नेपालका सुनिल मगर, भरत थापा, अमिष गुरागाईं र दुर्गादत्त पौडेलले समान एक/एक विकेट लिए ।

जवाफमा एक सय ८० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा एक सय १२ रन मात्र बनाउँन सक्यो । पदम बडाइला ११ र सुनिल तीन रनमा आउट भए। भरतले सर्वाधिक ३१ रन बनाउँदा नरेश चौधरीले १९ रनको योगदान दिए । रमेश बानियाँले १४ रन जोडे । बंगलादेशलका अस्मोत अलीले २ विकट लिए । मोहम्मद सलमान र आरिफ उल्लाहले एकएक विकेट आफ्नो नाममा गरे। हिजो भएको खेलमा नेपाल श्रीलंकासँग ७० रनले पराजित भएको थियो। नेपालले भोलि अफगानिस्तानको सामना गर्नेछ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.