युक्रेनविरुद्धको युद्धमा सयौं यमनीलाई रुसले सेनामा भर्ती लिइरहेको खुलासा

मंसिर ९, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
युक्रेनविरुद्धको युद्धमा सयौं यमनीलाई रुसले सेनामा भर्ती लिइरहेको खुलासा

काठमाडौं । रुसले युक्रेनविरुद्धको युद्ध लड्न सयौं यमनीलाई आफ्नो सेनामा भर्ना गरिरहेको बेलायती पत्रिका फाइनान्सियल टाइम्सले जनाएको छ ।

यमनको हुथी विद्रोहीसँग सम्बद्ध कम्पनीले उनीलाई उच्च तलब र नागरिकतासम्मको प्रलोभनकासाथ रुस पठाइरहेको पत्रिकाले उल्लेख गरेकोछ । रुस आइसकेपछि भने उनीहरुलाई बलपूर्वक सेनामा भर्ना गरी युक्रेन विरुद्धको युद्धमा लड्न खटाइएको जनाइएको छ ।

एक जना प्रभावशाली हुथी नेता अब्दुलवाली हसन अल जाब्री संस्थापक रहेको टुर अपरेटर र चिकित्साजन्य सामग्री आपूर्तिकर्ता कम्पनीले पर्यटकको आवरणमा भाडाका सैनिक रुस आपूर्ति गरिरहेको बताइएको छ । उक्त कम्पनीले गत जुलाईदेखि यमनीहरुलाई रुस पठाइरहेको र गत सेप्टेम्बरमा २ सय जना यमनी रुसी सेनामा भर्ना भएको समाचारमा जनाइएको छ ।

यमनीहरुलाई रुसी सेनामा भर्ती प्रकरणले अमेरिका लगायतका पश्चिमा देशसंगको बढदो वैमनस्यताकाबीच कसरी रुस, इरान र इरान समर्थित मध्यपूर्वका लडाकु समूहसँग नजिक भैरहेको छ भन्ने कुरालाई दर्शाएको फाइनान्सियल टाइम्सले टिप्पणी गरेकोछ ।

रुसले विभिन्न प्रलोभनमा विदेशी युवाहरुलाई भित्र्याएर सेनामा भर्ना गरी युक्रेन विरुद्धको युद्धमा खटाउने गरेको कुरा नयाँ भने होइन । मानव तस्करको प्रलोभनमा परी भारतीय र नेपाली युवा पनि रुसी सेनामा भर्ना भएर युक्रेन विरुद्धको युद्धमा खटिएको समाचार यसअघि नै सार्वजनिक भैसकेकेा हो ।रुसी सेनामा रहेका नेपालीको संख्या २ सयदेखि १५ हजारको बीचमा रहेको अनुमान गरिएको छ ।

नेपाल सरकार स्वयंले कम्तिमा २ सय नेपाली रुसी सेनामा रहेको स्वीकार गरेको छ भने तीमध्ये युक्रेन विरुद्धको युद्धमा लड्दै गर्दा अगष्ट ३० सम्ममा कम्तिमा ४० जना नेपाली मारिएको जनाइएको छ । यस्तै केही नेपालीलाई युक्रेनी सेनाले बन्धक समेत बनाएको जनाइएको छ । युक्रेनविरुद्ध लडन उत्तर कोरियाले आफना करिब ११ हजार सैनिक मस्को पठाएको र उनीहरु रुसको पश्चिमी कुर्स्क क्षेत्रमा परिचालन गरिएको पश्चिमा समाचारमाध्यमले उल्लेख गर्दै आएका छन् ।