जर्मनी डेभिस कपको सेमिफाइनलमा

मंसिर ६, २०८१ |खेल ब्युरो
जर्मनी डेभिस कपको सेमिफाइनलमा

काठमाडौं । जर्मनीले डेभिस कपको सेमिफाइनलमा नेदरल्यान्डससँग प्रतिस्पर्धा गर्ने भएको छ । मालागामा भएको खेलमा क्यानडालाई दुई-शून्यले पराजित गर्दै जर्मनीले नेदरल्यान्डस सँगको भेट पक्का गरेको हो ।

जर्मनी स्टार खेलाडी अलेक्जेन्डर ज्वेरेभबिना कोर्टमा उत्रिएको थियो । डानिएल अल्टमायरले, गाब्रिएल डियालोलाई सोझो सेटमा हराएपछि जर्मनीले बलियो सुरुवात पाएको थियो ।

पहिलो सेट प्रतिस्पर्धात्मक बन्यो । तर डानिएलले टाइब्रेकरमा ७-६ ले आफ्नो पक्षमा पारे । दोस्रो सेट उनले ६-४ ले जितेका थिए । त्यसपछि यान लिनर्ड र्स्टफले, डेनिस सापोभालोभ माथि तीन सेटको पुनरागमन जित हात पारे । उनले पहिलो सेट ४-६ ले गुमाएका थिए । तर बाँकी दुई सेट ७-५, ७-६ ले जितेपछि जर्मनीले अन्तिम चारमा स्थान सुरक्षित गर्यो ।

जर्मनीले क्यानडासँग सन् २०२२ को क्वार्टरफाइनलमा बेहोरेको हारको बदला पनि लियो । त्यसबेला क्यानडाले, अस्ट्रेलियालाई हराएर पहिलो पटक डेभिस कप उपाधि जितेको थियो ।

विश्व नम्बर एक यानिक सिनरको नेतृत्वमा रहेको साविक विजेता इटालीले क्वार्टरफाइनलमा आज अर्जेन्टिनासँग खेल्नेछ । यस्तै सेमिफाइनलमा स्थान बनाउनका लागि अमेरिका र अस्ट्रेलिया पनि आमनेसामने हुनेछन् ।