काठमाडौं । इटालीले एघार वर्षपछि बिली जिन किंग कप टेनिसको उपाधि जितेको छ । स्पेनको मालागामा गएराति भएको फाइनलमा इटालीले स्लोभाकियालाई दुई-शून्यले पराजित गरेको हो ।
लुछिया ब्रोनजेटीले, इटालीलाई उत्कृष्ट सुरुवात दिलाएकी थिइन् । विश्व वरियताको ७८ औं स्थानमा रहेकी लुछियाले स्लोभाकियाकी भिक्टोरिया कुज्नोभालाई सोझो सेटमा हराइन् ।
उनले दुई सय ३८ औं स्थान रहेकी भिक्टोरियालाई ६-२, ६-४ ले पराजित गरेकी थिइन् । त्यसका लागि लुछियाले एक घन्टा २१ मिनेट समय लगाएकी थिइन् । यस्तै विश्व नम्बर चार जास्मिन पाउलोनीले पनि उत्कृष्ट प्रदर्शन गरेपछि इटाली च्याम्पियन भएको हो ।
उनले ४३ औं वरियताकी रेबिका श्रमकोभालाई ६-२, ६-१ ले पाखा लगाएकी थिइन् । जास्मिनले स्लोभाकियाकी रेबिकामाथि जित निकाल्न मात्र ६५ मिनेट खर्चिएकी थिइन् । उपाधि जितेपछि इटालियन कप्तान ताथियाना गार्विनले सपना पूरा भएको प्रतिक्रिया दिएकी थिइन् । गत वर्ष फाइनलमा क्यानडासँग पराजित भएको इटालीको यो पाँचौं उपाधि हो ।
यसअघि इटाली सन २००६, २००९, २०१० र २०१३ मा विजेता बनेको थियो । ट्रफीसहित इटालीले दुई दशमवल चार मिलियन डलर नगद पुरस्कार प्राप्त गरेको छ । यो सफलता पछि इटाली टेनिसको पावर हाउस बनेको छ । अघिल्लो वर्ष पुरुष टिमले ४७ वर्षपछि इटालीलाई डेभिस कपको उपाधि दिलाएको थियो ।