कोसोभोविरुद्ध रोमानिया तीन-शून्य गोलले विजयी भएको घोषणा

मंसिर ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
कोसोभोविरुद्ध रोमानिया तीन-शून्य गोलले विजयी भएको घोषणा

काठमाडौं । युरोपियन फुटबल महासंघ यूएफाले, रोमानिया कोसोभोविरुद्ध तीन-शून्य गोलले विजयी भएको घोषणा गरेको छ । यूएफा नेसन्स लिग अन्तर्गत गत शनिबार भएको रोमानिया र कोसोभो बीचको खेलको नतिजा आएको थिएन । घरेलु समर्थकले भेदभावपूर्ण नारा लगाएको विरोधमा कोसोभोले पिच छाडेको थियो ।

बुखारेस्टमा, कोसोभोले खेल सकिन केही सेकेन्ड बाँकी हुँदा पिच छाडेको थियो । सो बेला खेल गोलरहित बराबरीमा थियो । कोसोभो फुटवल संघले, घरेलु समर्थक उत्तेजक र आक्रमक भएको आरोप लगाएको थियो । उनीहरुले 'कोसोभो सर्विया हो' भन्दै नारा लगाएका थिए ।

रोमानिया फुटबल संघले भने खेलका दौरान कुनै पनि विभेदपूर्ण नारा नलगाएको दाबी गरेको छ । यूएफाको अनुशासन समितिले आफ्नो रिपोर्टमा सर्वियाको बारेमा केही उल्लेख गरेको छैन् । तर राष्ट्रिय गानको दौरान अवरोध गरेको र खेलमा राजनीतिक संदेश दिन खोजेको भन्दै रोमानियालाई जरिवाना तोक्दै घरेलु मैदानमा हुने अर्को खेल बन्द रंगशालामा खेल्न निर्देशन दिएको छ ।

पछिल्लो समय खेलको समयमा अनुशासन उल्ङ्घन गरेको विषयमा दुवै राष्ट्र यूएफाको कारबाहीमा परेको यो तेस्रो पटक हो । कोसोभो सन २००८ मा सर्वियाबाट स्वतन्त्र भएको थियो । विश्वका एक सय राष्ट्रले कोसोभोलाइ स्वतन्त्र देशो मान्यता दिएका छन् । तर रोमानिया र सर्वियाले भने कोसोभोलाई छुट्टै राष्ट्रका रुपमा पहिचान गरेका छैनन् । यूएफा र फिफाको प्रतियोगिता दौरान यी दुई देशलाइ छुट्टै राखिदै आइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.