गौतम अदानीमाथि अमेरिकामा लगाइएको आरोप अदानी समूहद्वारा अस्वीकार

मंसिर ६, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
गौतम अदानीमाथि अमेरिकामा लगाइएको आरोप अदानी समूहद्वारा अस्वीकार

काठमाडौं । भारतको अदानी समूहले गौतम अदानीमाथि अमेरिकामा लगाइएको आरोप अस्वीकार गरेको छ ।

अडानीविरुद्ध अमेरिकाको न्यूयोर्कमा बहुअर्ब डलरको घुस तथा धोखाधडीको योजनामा संलग्न रहेको अभियोगमा मुद्दा दायर गरिएपछि अदानी समूहले विज्ञप्ति जारी गर्दै उक्त आरोप निराधार भएको स्पष्ट पारेको हो । विज्ञप्तिमा अदानी समूहका प्रवक्ताले अमेरिकी न्याय मन्त्रालय र सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनले अडानी ग्रीनका निर्देशकहरूविरुद्ध लगाएका आरोपहरू निराधार रहेको र आफूहरु उक्त आरोपलाई अस्वीकार गरेको बताउनुभएको छ ।

अभियोगमा लगाइएको आरोप प्रमाणित नभएसम्म गौतम अडानी निर्दोष मानिने विज्ञप्तिमा उल्लेख छ । समूहले यस विषयमा सबै कानुनी विकल्प खोज्ने पनि स्पष्ट पारेको बीबीसीले जनाएको छ ।

अमेरिकाले अडानीमाथि आरोप लगाएसँगै भारतमा रहेका उहाँका कम्पनीहरुको शेयरमा व्यापक गिरावट आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच भारतीय कंग्रेसका संसद तथा लोकसभाका प्रतिपक्षी दलका नेता राहुल गान्धीले गिरफ्तारीको माग गर्दै उहाँमाथि आवश्यक छानविन गर्न माग गर्नुभएको छ ।

न्यूयोर्कका वकिलले अडानीविरुद्ध अमेरिकामा ठगी मुद्दा दायर गरेका छन् । अडानी र उहाँका भतिजा सागर अडानी सहित अन्य सात जनामाथि भारतका सरकारी अधिकारीहरुलाई सौर्य उर्जा प्लान्ट परियोजना निर्माणको ठेक्का हात पार्नका लागि साढे २६ करोड अमेरिकी डलर घुस दिन सहमति जनाएको अभियोग लगाइएको छ । अडानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिनुहुन्छ भने विपक्षी दलहरुले मोदीमाथि अडानी र उहाँको कम्पनीको संरक्षण गरेको आरोप लगाउने गरेका छन् ।