काठमाडौं । अष्ट्रेलिया सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोग गर्नबाट रोक्ने तयारी गरेको छ ।
सामाजिक सञ्जालको अत्यधिक प्रयोगले बालबालिकामा नकारात्मक असर देखिएको भन्दै त्यसलाई नियन्त्रण गर्न अस्ट्रेलिया सरकारले बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउनेसम्बन्धी विधेयक अघि बढाएको हो । विधेयकमाथि प्रश्नहरु त उठाइएको छ तर यदि विधेयक पारित भएमा सामाजिक सञ्जालका नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन नेपालजस्ता देशका लागि पनि सिकाइ सन्दर्भ हुन सक्नेछ ।
अस्ट्रेलिया सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउनेसम्बन्धी विधेयक संसद्मा पेश गरेको छ । सामाजिक सञ्जालको अत्यधिक प्रयोगले बालबालिकाको शारिरीक र मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्ने भन्दै सरकारले यो विधेयक ल्याएको हो ।
विधेयक पारित भएमा १६ वर्षभन्दा कम उमेरका बालबालिकाले सामाजिक सञ्जालमा प्रवेश नै पाउने छैनन् । सामाजिक सञ्जाल चलाइरहेकै बालबालिकाका खाताहरु पनि बन्द गरिनेछन् । अभिभावकको अनुमति वा प्यारेन्टल गाइडेन्सजस्ता प्रचलित व्यवस्थालाई समेत विधेयकले अस्वीकार गरेको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि बायोमेट्रिक्स प्रणाली र सरकारी प्रमाणपत्र एवं उमेर प्रमाणिकरणको व्यवस्था सामाजिक सञ्जाल संचालक कम्पनी आफैँले गर्नुपर्ने विधेयकमा उल्लेख छ । विधेयक कानुनका रुपमा जारी भएमा सामाजिक संजाल प्रयोगकर्ता परीक्षणको यो विश्वकै कठोर व्यवस्था हुने छ जसको उल्लंघन गरेमा सञ्जाल प्लेटफर्महरुमाथि तीन करोड २० लाख अमेरिकी डलरसम्मको जरिवाना लगाउन सक्ने व्यवस्था गरिएको छ ।
यो विधेयक कानुन बनेको अवस्थामा अष्ट्रेलियामा धेरै प्रयोग हुने इन्स्टाग्राम, फेसबुक, टिकटक, एक्स र स्न्याप च्याटजस्ता प्लेटफर्महरुमाथि ठूलो प्रभाव पर्ने छ । तर म्यासेजिङ, अनलाईन गेमिङ तथा शिक्षा एवम् स्वास्थ्यसम्बन्धी गुगल क्लास रुम, हेडस्पेश र युट्युब साइटहरुमा भने बालबालिकाको पहुँच कायमै रहेन बताइएको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले यसलाई युगान्तकारी सुधार भएको दाबी गर्नुभएको छ । विपक्षी लिबरल पार्टीले विधेयकको पक्षमा मतदान गर्ने सोच बनाए पनि ग्रीन पार्टी र स्वतन्त्र सांसदले भने प्रस्तावित कानुनबारे थप विवरण माग गरेका छन् ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले यसलाई युगान्तकारी सुधार भएको दाबी गर्नुभएको छ । यसअघि फ्रान्सले गएको वर्षदेखि अभिभावकको सहमति बाहेकको अवस्थामा १५ वर्षमुनिका बालकालिकालाई सामाजिक संजाल प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
अमेरिकाले निकै अघिदेखि नै अभिभावकको अनुमतिमा मात्रै १३ वर्षमुनिका बालबालिकालाई सामाजिक संजालको पहुँच दिँदै आएको छ । सामाजिक संजालको प्रयोगको प्रभावकारी नियमन गर्न कठिन पर्दै आएको नेपालजस्ता देशका लागि संजालहरुमा बालबालिका र किशोरकिशोरीको पहुँच नियन्त्रण गर्न अष्ट्रेलियाको यो विधेयक सन्दर्भ सिकाइ हुन सक्ने देखिन्छ ।