यू-१९ क्रिकेट कप्तान पूजा महतोको प्रेरणादायक सफलता

मंसिर ६, २०८१ |विकास आर्या
यू-१९ क्रिकेट कप्तान पूजा महतोको प्रेरणादायक सफलता

महोत्तरी । मधेशमा कुनै बेला छोरीको जन्म परिवारका लागि अभिशाप नै ठानिन्थ्यो । तर पूजा महतोजस्ता उदियमान महिला खेलाडीको कारण मधेशको सिङ्गो समाजको छोरीलाई हेर्ने दृष्टिकोण बदलिने विश्वास गरिएको छ ।

अहिले पूजा महतोलाई नचिन्ने देशमा सायदै कोही होलान् । पूजाकै कप्तानीमा गत साता नेपाली यू-१९ महिला क्रिकेट टोलीले इतिहास रच्दै आईसीसी यू-१९ महिला विश्वकप क्रिकेटमा छनोट हुन सफल भयो । 

सोमबार सााझ नेपाली यू-१९ क्रिकेट टोलीकी कप्तान पूजा महतो एनपीएल टिम जनकपुर बोल्ट्सको 'फेस अफ द बोल्ट्स'को रूपमा सार्वजनिक भएर आफूलाई गर्व महसुस भइरहेको बताइन् ।

देशकै जेठो गाई गौशालाको नामले परिचित गौशाला अब पूजाको नामले चिनिन थालेपछि यहाँका स्थानीय खुसी व्यक्त गरिरहेका छन् । सोमबार बिहान उनलाई गृहनगर गौशालामा नागरिक अभिनन्दनसमेत गरियो । सम्मान यात्रा निकालेर नगर परिक्रमा गरी कप्तान महतोलाई अभिनन्दन गर्न पाउँदा नगरबासीले खुसी व्यक्त गरे ।

पूजा यस्ती खेलाडी हुन् जसले शतकका साथ पाँच विकेट लिएर विश्व कीर्तिमान स्थापित गरिन् । यो कीर्तिमानमा सबैले गर्व गरिरहेका छन् । अवसर पाए छोरीले पनि विश्व कीर्तिमान कायम गर्न सक्छन् भन्ने पूजाले स्थापित गरिदिएपछि अब मधेशमा छोरीलाई हेर्ने आममानिसको मनोवृत्तिलाई घचघच्याइरहेको छ ।

२०७८ को जनगणना अनुसार मधेश प्रदेशको जनसंख्या ६१ लाख १४ हजार मध्ये पुरुष ३० लाख ६५ हजार र महिला ३० लाख ४८ हजार छन् । तथ्यांकअनुसार मधेशमा पुरुषभन्दा महिला जनसंख्या १६ हजार ९ सय २ ले कम छ । 

कुल जनसंख्यामा महिलाको अनुपात धेरै हुँदा मधेशको घट्दो महिला जनसंख्यालाई लैंगिक विभेदसँग जोडेर हेर्ने गरिएकोमा पूजाको जितले छोरीलाई हेर्ने दृष्टिकोण फेर्नमा ठूलो कोसेढुंगा हुने आशा गर्न सकिन्छ । 


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement