च्याम्पियन्स ट्रफीको उपाधि भारतलाई

फाल्गुन २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
च्याम्पियन्स ट्रफीको उपाधि भारतलाई

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ । न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारतले सन् २०१३ पछि च्याम्पियन्स ट्रफी जितेको हो ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५१ रन बनाएको थियो । २५२ रनको लक्ष्य सहित मैदानमा उत्रिएको भारतले ४९औं ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेटायो ।

ब्याटिङतर्फ मध्यम सुरुआत गरेको न्युजिल्यान्डका लागि रचिन रवीन्द्र र विल योङले ५७ रनको ओपनिङ साझेदारी गरे । वरुण चक्रवर्तीले यो साझेदारी तोडे । विल योङ १५ रनमा एलबीडब्ल्यू भएका हुन् । रचिनले भने जीवनदान पाएका थिए । रचिन ३० रनमा खेलिरहेको अवस्थामा वरुणको बलमा श्रेयस ऐअरले क्याच ड्रप गरेपछि उनले जीवनदान पाएका थिए । तर कुलदीप यादवले क्याच ड्रपलाई महँगो साबित हुन दिएनन् । उनले रचिनलाई ३७ रनमा क्लिन बोल्ड गरे ।

केन विलियम्सन पनि ११ रनमा पभेलियन फर्किए । उनको विकेट कुलदीपले नै लिएका हुन् । चौथो नम्बरका ड्यारिल मिचेलले लामो इनिङ्स खेलेर ६३ रन जोडे । तीन चौका समेत प्रहार गरेका उनले १०१ बलको सामना गरे । टम लेथमले १४ तथा ग्लेन फिलिप्सले ३४ रनको योगदान गरेसँगै न्युजिल्यान्ड सम्हालिएको थियो । अन्तिममा मिचेल ब्रेसवेलले ४० बलमा ५३ रन जोडेर न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक अवस्थामा पुर्याएका थिए । त्यसक्रममा अविजित रहँदै मिचेलले तीन चौका र दुई छक्का प्रहार गरे ।

किफायती बलिङ गरेको भारतका लागि वरुणले दुई विकेट लिए भने कुलदीपको नाममा पनि दुई विकेट रह्यो ।

जवाफमा भारतका ओपनर शुभमन गिलले रोहित शर्मासँग १०५ रनको शतकीय साझेदारी गरे । ५१ बलमा ३१ रन बनाएका गिललाई मिचेल सान्टनरले आउट गराए । विराट कोहली एक रनमै आउट भए पनि भारत सहज अवस्थामा पुगिसकेको थियो । दोस्रो विकेट गुमाउँदा भारतको खातामा १०६ रन थियो । ओपनर रोहितले आज उत्कृष्ट र लामो पारी खेल्दै न्युजिल्यान्डका बलरलाई दबाबमा राखेका थिए । ७६ रन बनाएको अवस्थामा रोहितलाई रचिन रवीन्द्रले आउट गराए ।

भारतका लागि श्रेयस ऐयरले ४८ तथा अक्षर पटेलले २९ रनको पारी खेल्दै मध्यक्रम सम्हालेका थिए । हार्दिक पाण्ड्याले १८ तथा रवीन्द्र जडेजाले ९ रन बनाए । केएल राहुलले अविजित ३४ रन बनाए । उनी र जडेजा अन्तिमसम्मै क्रिजमा थिए ।

बलिङतर्फ न्युजिल्यान्डका मिचेल सान्टनर र माइकल ब्रेसवेलले समान २-२ विकेट लिए । यस्तै रचिन रवीन्द्र र कायल जेमसनले १-१ विकेट लिए । भारतले सन् २०२४ मा आईसीसी टी ट्वेन्टी विश्वकपको उपाधि जितेको थियो ।

सेमिफाइनलमा भारतले अस्ट्रेलिया र न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा स्थान बनाएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement