ललितपुर । नेपाल पुलिस क्बलले ललित स्मृति एन्फा अन्डर-१८ लिगको शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ। सातदोबाटोको एन्फा कम्प्लेक्समा आज भएको ११औं चरणको पहिलो खेलमा चर्च बोइज क्लबलाई ३-१ ले हराउँदै पुलिसले शीर्षस्थानमा अग्रता बढाएको हो ।
पुलिसलाई जित दिलाउन कप्तान सुवास बमले दुई गोल गरे । पेनाल्टी बक्सभित्र लक्ष्मण थामीलाई लडाएपछि तेस्रो मिनेटमा नै पुलिसले पेनाल्टी पायो । तर, सुवासको पेनाल्टी प्रहार गोलकिपर असिम खड्काले बचाएका थिए । रिबाउन्डमा उनको अर्को प्रहार पनि बारमा लागेर बाहिरियो ।
छैटौं मिनेटमा चर्च बोइजका रोमन गुरुङको प्रहार सागर चन्दले रोकेका थिए । ११औं मिनेटमा पुलिस गोल गर्न सफल भयो । बायाँ साइडबाट साजनराज गौतमले दिएको क्रसमा सुवासले सुन्दर गोल गरेका थिए ।
खेलको ४५औं मिनेटमा पुलिसले फ्रि किक पायो । लक्ष्मणको फ्रि किकमा चिरन कार्कीले पोस्टअघिबाट सहजै गोल गरेपछि दुई गोलको अग्रता बनाएर पुलिस सहज अवस्थामा पुगेको थियो ।
तर, दोस्रो हाफको दोस्रो मिनेटमा नै चर्च बोइजले गोल फर्काएर अग्रता २-१ मा घटायो । अनुज थिङले पुलिसको डिफेन्डरहरुबीचबाट बल बाहिर ल्याएर २५ यार्डबाट निकै आकर्षक गोल गरेका थिए ।
खेलको ७२औं मिनेटमा सुबासले कर्नर प्रहारको अवसर पाए । उनको कर्नरमा चिरनले पास मिलाइदिएपछि सुवासले नै टाढाबाट गोल गर्दा पुलिस ३-१ ले विजयी भएको हो । आजको जितसँगै पुलिसले ११ खेलबाट २६ अंक बनाएको छ । अघिल्लो खेलमा पुलिस एनआरटीसँग पराजित भएको थियो । यता पराजित चर्च बोइजको १४ अंक छ ।