गण्डकी प्रदेश अझै प्रभावशाली बन्ने सम्भावना देखेको छु : अध्यक्ष सिरोहिया

माघ ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
गण्डकी प्रदेश अझै प्रभावशाली बन्ने सम्भावना देखेको छु : अध्यक्ष सिरोहिया

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सबै पक्षबाट हेर्दा गण्डकी प्रदेश अझै प्रभावशाली बन्ने बलियो सम्भावना देखिएको बताउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपले बुधबार पोखरामा आयोजना गरेको ‘गन्तव्य गण्डकी’ विषयक अन्तर्क्रिया कार्यक्रममा सिरोहियाले यस्तो बताउनुभएको हो ।

“गण्डकी पर्यटकीय मात्रै नभई उत्पादनका दृष्टिले पनि पोखरा औद्योगिक शहर हो । शिक्षा र स्वास्थ्य क्षेत्रमा पोखरा अग्रणी बनेको छ भने मनाङ र मुस्ताङ जस्ता जिल्ला भौगोलिक रूपमा विकटसँगै पूर्वाधारमा कमजोर छन्”, उहाँले भन्नुभयो, “हिमाली क्षेत्रमा मनग्य सम्भावना भएको स्याउ लगायत खेतीले प्रोत्साहन र बजार पाउन सकेका छैनन् । सार्वजनिक–निजी साझेदारीहरूलाई संस्थागत बनाउन र पर्यटन, उद्यम तथा कृषिबाट आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सरकारको योजना र निजी क्षेत्रको तत्परता अपरिहार्य छ ।”

उहाँले गण्डकी अझै प्रभावशाली बन्ने सम्भावना देखिए पनि त्यसका लागि केही काम गर्नुपर्ने देखिएको बताउनुभयो । पर्यटन र कृषि, शिक्षा र स्वास्थ्य, उद्यम र पूर्वाधारमा गण्डकीको सम्भावनाको उच्चतम प्रयोग गर्न अझै बाँकी भएको उहाँले बताउनुभयो । पूर्ण सम्भावनाको खोजी र उपयोग, नीति निर्माण र कार्यान्वयन, पूर्वाधार विकास र पर्यटन अभ्यास तथा लगानी र रोजगारी प्रवर्द्धनमा जोड दिन र एउटा साझा माध्यम भएर कान्तिपुर मिडिया ग्रुप ‘गन्तव्य गण्डकी’ लिएर आइपुगेको उहाँले बताउनुभयो ।

संघीयताको सन्दर्भमा उहाँले संघले प्रदेशका लागि बनाउनुपर्ने कानुन नबनाएर संघीयता सकसमै रहेको बताउनुभयो । “कतिपय कानुनका सन्दर्भमा प्रदेश अघिअघि, संघ पछिपछि पाउँछौं । मैले यहाँ भन्नैपर्छ गण्डकी प्रदेश सरकारले आमसञ्चार सम्बन्धी उदार कानुन बनाएर आफ्नो क्षमता समेत प्रदर्शन गरिसकेको छ । यस्ता अझै धेरै कानुन बनाउन बाँकी छ, त्यसको समेत आज यहाँ बहस होस भन्ने चाहन्छु”, उहाँले भन्नुभयो ।

उहाँले यो बहसले गण्डकी मात्रै नभई देशकै विकास र अर्थतन्त्रको विस्तारका अवरोध पन्छाउने उपायहरू पहिल्याउने पनि विश्वास व्यक्त गर्नुभयो । उहाँले सडक पूर्वाधार निर्माणमा जोडिएका हरेक सरोकारवाला निकायलाई थप विस्तारका लागि सडक भत्काउनुपरे भत्काइसकेपछि जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्न पनि आग्रह गर्नुभयो । “यस शहरमा काठमाडौं, चितवन, भैरहवा जस्ता गन्तव्यबाट सहजै आवतजावत गर्न मिल्ने सडक पूर्वाधार बनाइदिनुहोस् । यहाँको अर्को प्रमुख मुद्दा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी हो”, उहाँले भन्नुभयो, “गण्डकीको थप उन्नतिको मार्ग पर्यटन र त्यसमा पनि यहाँको अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालनसँग जोडिएको छ । झन्डै साढे २५ अर्ब रुपैयाँ लागतमा बनेको विमानस्थल सञ्चालनमा आएको दुई वर्षमा अन्तर्राष्ट्रिय उडान अझै सुरू हुन सकेको छैन ।”


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement