इंग्लिस क्रिकेटर नाथन सोउटरले काठमान्डु गुर्खाजबाट एनपीएल खेल्ने

मंसिर ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
इंग्लिस क्रिकेटर नाथन सोउटरले काठमान्डु गुर्खाजबाट एनपीएल खेल्ने

काठमाडौं । इंग्लिस क्रिकेटर नाथन सोउटरले काठमान्डु गुर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । काठमाडौं गुर्खाजले मंगलबार ३२ वर्षे लेग स्पिन अलराउन्डरलाई सोउटरलाई भित्राएको जनाएको छ ।

काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौं गुर्खाजमा उनी पाँचौं विदेशी खेलाडी हुन् । अर्का दुई इंग्लिस क्रिकेटरद्वय स्टेफन इस्किनाजी र ड्यान डौथवेटसहित नेदरल्यान्ड्सका ओपनर माइकल लेभिट, नामिबियाका कप्तान मर्वी जेर्राड इरसमसलाई टोलीले यसअघि नै अनुबन्ध गरिसकेको छ ।

सोउटरले इंग्लिस घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्, विशेष गरी टी–२० ब्लास्टजस्ता प्रतियोगितामा । उनको विशेषता र खेल जिताउने क्षमताले आफ्नो टोलीलाई यस सिजनमा थप प्रतिस्पर्धी बनाउने विश्वास काठमान्डु गुर्खाजले लिएको छ । 

गुर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले सोउटरको आगमनमा खुशी व्यक्त गर्दै भने, ‘सोउटरले हाम्रो टोलीमा अनुभव र रणनीतिक कौशल थप्नेछन् । दबाबपूर्ण परिस्थितिमा उत्कृष्ट प्रदर्शन गर्ने उनको क्षमता हाम्रो अभियानका लागि निकै महत्वपूर्ण हुनेछ । हामी उनलाईस्वागत गर्न पाउादा उत्साहित छौं ।’

अस्ट्रेलियामा जन्मिएका उनले न्यु साउथ वेल्सको यू–२३ टोलीबाट खेलेका थिए । उनीसँग द हन्ड्रेड्स, भाइटालिटि ब्लास्ट, क्यारेबियन प्रिमियर लिग, इन्टरनेसनल लिग टी–२० खेलको अनुभव छ । सोक्रममा उनले १४३ ट्वेन्टी–२० खेलमा ७.६० को इकोनोमीमा १५४ विकेट र ११२.९० को स्ट्राइक रेटमा २ सय ४५ रन बनाएका छन् । उनले ओभल इन्भिसिबल्स, डेजर्ट भाइपर्स, डरहम र गुयाना अमाजोन वारियर्सबाट विश्वका विभिन्न लिग खेलेका छन् ।

सोउटरले काठमाडौं आएर एनपीएल खेल्न उत्साहित रहेको जनाउँदै भने, ‘काठमान्डु गुर्खाज टोलीमा सामेल हुनु मेरा लागि सम्मानको विषय हो । म नेपालका क्रिकेटप्रेमी प्रशंसकहरूका अगाडि उत्कृष्ट प्रदर्शन गर्न र टोलीको सफलतामा योगदान दिन उत्सुक छु । यो सिजनलाई अविस्मरणीय बनाउन चाहान्छु ।’ एनपीएल मंसिर १५ बाट सुरु हुनेछ र काठमान्डु गुर्खाजले मंसिर १७ मा चितवन राइनोजसँग आफ्नो पहिलो खेल खेल्ने छ ।

करण केसी ‘मार्की’ खेलाडी रहेको काठमान्डु गुर्खाजले अक्सनबाट शाहव आलम, भिम सार्की, रशिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कँडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतिक श्रेष्ठलाई लिएको थियो । टोलीको मुख्य प्रशिक्षकमा वसन्त शाही रहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.