कर्नाटक यू-१९ विरुद्धको चौथो एकदिवसीय अभ्यास खेलमा नेपाल ५ विकेटले पराजित

५ खेलको सिरिज २-२ को बराबरीमा
मंसिर ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
कर्नाटक यू-१९ विरुद्धको चौथो एकदिवसीय अभ्यास खेलमा नेपाल ५ विकेटले पराजित

काठमाडौं । कर्नाटक यू-१९ विरुद्धको चौंथो एकदिवसीय अभ्यास खेलमा नेपाल पराजित भएको छ । भ्रमण टोलीले नेपालविरुद्ध ५ विकेटको जित हात पारेको हो ।

यस सिरिजसँगै ५ खेलको एकदिवसीय अभ्यास सिरिज २-२ को बराबरीमा पुगेको छ । एसीसी पुरुष अन्डर १९ एसिया कपको तयारीमा रहेको नेपाली युवा टोलीले यस सिरिजको पहिलो खेल गुमाए पनि त्यसपछि लगातार २ खेल जितेको थियो । तर कर्नाटक यू-१९ ले चौंथो खेल जित्दै सिरिमा पुनरागमन गरेको छ । नेपाललाई रोक्न लेफ्ट आर्म स्पिनर अक्षथ प्रभाकरले ५ विकेट लिए ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ३५ ओभर १ बलमा सबै विकेट गुमाउँदै १ सय ५ रन मात्र बनाउन सक्यो । घरेलु टोलीका लागि ओपनर मयन यादवले ३४ र रोशन विकले नटआउट ३४ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन स्कोर गर्न सकेनन् । नेपाललाई न्यून स्कोरमा रोक्न अक्षथले १० ओभरमा १ मेडन राख्दै २४ रन खर्च गरेर ५ विकेट लिए । प्रणव अस्वाथले ३ विकेट हात पारे ।

जवाफमा १ सय ६ रनको लक्ष्य कर्नाटकले ३७ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । ३४ रनमा ४ विकेट गुमाएर खराब सुरुवात गरेको कर्नाटकका लागि कप्तान रोहित आरभी र शिव आरले ४१ रनको साझेदारी गर्दै जितको आधार तय गरे । रोहितले २० रनको योगदान दिए । शिव र अक्षथ प्रभाकर समान २४-२४ रनमा नटआउट रहे ।

नेपालका लागि सन्तोष यादवले ३ तथा राजेश यादव र विपिन महतोले १-१ विकेट लिए । यससँगै पाँच खेलको अभ्यास २-२ को बाराबरी अवस्थामा पुगेको छ । दुई टोलीबीच बिहीबार हुने खेलपछि सिरिजको विजेताको टुङ्गो लाग्ने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.