प्रथम 'झापा-१ काठमाडौं कप फुटसल'को उपाधि मेचीनगरलाई, मैत्रीपूर्ण खेलमा विश्वप्रकाश शर्माका दुई गोल

मंसिर १, २०८१ |खेल ब्युरो
प्रथम 'झापा-१ काठमाडौं कप फुटसल'को उपाधि मेचीनगरलाई, मैत्रीपूर्ण खेलमा विश्वप्रकाश शर्माका दुई गोल

काठमाडौं । प्रथम झापा-१ काठमाडौं कप फुटसल प्रतियोगिताको उपाधि साबिक मेचीनगरले जितेको छ ।

नेपाली कांग्रेस झापा-१ सांसद सचिवालय तथा झापा-१ काठमाडौं सम्पर्क समितिको संयुक्त आयोजनामा जावलाखेलस्थित डीएभी स्कुलमा भएको प्रतियोगिताको फाइनलमा धाइजनलाई ४–३ ले पराजित गर्दै मेचीनगरले उपाधि हात पारेको हो । 

रोमाञ्चक बनेको खेलमा धाइजनका देवासिस प्रसाईंले ह्याट्रिक गरे पनि उपाधि दिलाउन सकेनन् । प्रथम कार्कीले मेचीनगरलाई सुरुआती अग्रता दिलाएका थिए । तर, देवासिसले धाइजनलाई खेलमा फर्काए । त्यसपछि रोहन कार्कीले लगातार दुई गोल गर्दै मेचीनगरको अग्रता ३–१ मा पुर्‍याए । तर, देवासिसले अर्को गोल गर्दै धाइजनलाई ३–२ को स्थितिमा ल्याए । 

लगत्तै प्रथमले अर्को गोल गर्दै मेचीनगरलाई ४–२ को अग्रता दिलाए । खेलको अन्त्यतिर देवासिसले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरे । तर, उक्त ह्याट्रिकले धाइजन खेलमा फर्किन सकेन । यद्यपि, उनी खेलको प्लेयर अफ द म्याच चुनिए ।

प्रतियोगितामा मेचीनगर र धाइजनसँगै शान्तिनगर, दुवागढी, बाहुनडाँगी, चन्द्रगढी र ज्यामिरगढीले सहभागिता जनाएका थिए ।

मेचीनगरले पहिलो सेमिफाइनलमा बाहुनडाँगीलाई ५–१ ले पराजित गर्दै उपाधि यात्रा तय गरेको थियो । यस्तै, धाइजनले भने दोस्रो सेमिफाइनलमा ज्यामिरगढीलाई ३–० ले पाखा लगायो । ज्यामिरगढीले ‘बाइ’ पाउँदै सिधै अन्तिम चारमा स्थान बनाएको थियो । तर, उक्त मौकालाई ज्यामिरगढीले सदुपयोग गर्न सकेन ।

उपाधिसँगै विजेता मेचीनगरले २१ हजार रुपैयाँ प्राप्त गर्‍यो । यस्तै, उपविजेता धाइजनले ११ हजार रुपैयाँ पायो । उपाधिसँगै मेचीनगरले व्यक्तिगत पुरस्कारमा पनि कब्जा जमायो । प्रतियोगिताको उत्कृष्ट गोलकिपर मेचीनगरका जयश खनाल घोषित भए । प्लेयर अफ द टुर्नामेन्ट रोहन बुढाथोकी र सर्वाधिक गोलकर्ता अंकित दुलाल रहे । उनीहरू दुवै मेचीनगरका हुन् । मेचीनगरलाई फाइनलसम्म पुर्‍याउन अंकितले सर्वाधिक आठ गोल गरेका थिए ।

झापा प्रतिनिधिसभा क्षेत्र नम्बर - १ का सांसद एवं नेपाली कांग्रेसका महमन्त्री विश्वप्रकाश शर्माले निर्णायक समितिमा रहेका नेपाली टोलीका पूर्वप्रशिक्षक तथा पूर्वकप्तान हरि खड्का र अमनप्रताप अधिकारीलगायतले बनाएको उत्कृष्ट खेलाडीको सूचीबाट एउटा टोली बनाउने जानकारी दिनुभयो ।

‘निर्णायक समितिबाट एक लिस्ट पाएको छु । त्यो लिस्टबाट झापा-१ को एक टिम बनाउनेछौं । त्यो टोलीले नेपालभर हुने प्रतियोगितामा झापा-१ को प्रतिनिधित्व गर्नेछ,’ शर्माले भन्नुभयो ।

विश्वप्रकाशको दुई गोल

मैत्रीपूर्ण खेलतर्फ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको दुई गोलसँगै राजनीतिक दल विजयी भयो । राजनीति दलले कलाकारको टोलीलाई ६–१ ले पराजित गरेको हो । शर्माले पहिलो हाफमै दुई गोल गर्नु भयो । यस्तै, भास्कर काफ्लेले पहिलो हाफमा दुई गोल गर्दा राजनीतिक दलले ४–० को फराकिलो अग्रता लिएको थियो ।

दोस्रो हाफमा राजनीतिक दलका बालकुमार केसी र रञ्जित तामाङले समान एक-एक गोल गरे । यस्तै, कलाकारको टिमबाट बालकृष्ण निरौलाले गरेको गोल सान्त्वना रह्यो ।

राजनीतिक दलबाट शर्मा, काफ्ले, केसी र तामाङसँगै एलपी सावाँ, सेरोम कार्की र किशोर मगर मैदान उत्रिएका थिए । यस्तै, कलकारबाट प्रमोद प्रसाईं, भानुभक्त ढकाल, टीका भण्डारी, सरोज वली, प्रशान्त सिवाकोटी, योगेन्द्र उपाध्याय, अशोक शर्मा, समीर खरेल र अमीर शेखले खेलेका थिए ।

अन्य मैत्रीपूर्ण खेलमा महिला ‘ख’ ले महिला ‘क’ लाई १–० ले पराजित गर्‍यो । महिला ‘ख का लागि युनिशा प्रसाईंले गरेको गोल नै निर्णायक बन्यो । अर्को खेलमा पेसा व्यवसायीले कर्मचारीमाथि ६–२ को जित हात पार्‍यो । प्रतियोगिताको उद्घाटन सभामुख देवराज घिमिरेले गर्नु भएको थियो । उहाँले राजनीतिक दलबाट यस्ता गतिविधि हुन सराहनीय भएको उल्लेख गर्नु भयो ।

सोही अवसरमा नेपाली कांग्रेस राष्ट्रियसभा दलका नेता कृष्णप्रसाद सिटौलाले राजनीति दलहरूले यस्तो प्रतियोगिता गर्नु सिर्जनात्मक भएको बताउनु भयो । विजेता र उपविजेता टोलीसँगै व्यक्तिगत पुरस्कार जित्ने खेलाडी र प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई महामन्त्री शर्माले पुरस्कार वितरण गर्नु भएको थियो । उद्घाटन समारोहमा झापा जिल्लाका कांग्रेस, एमाले, राप्रपा, माओवादीसहित राजनीतिक दलका नेताहरूको उपस्थिति थियो ।