काठमाडौं । व्यावसायिक बक्सिङबाट संन्यास लिएको २० वर्षपछि रिङमा फर्किएका अमेरिकाका महान बक्सर माइक टायसन जेक पलसँग पराजित भएका छन् ।
आज एटी एन्ड टी स्टेडियम आर्लिङटन, टेक्ससमा भएको खेलमा टायसन अमेरिकाकै जेक पलसँग पराजित भएका हुन् । पलले टायसनलाई सहजै पराजित गरेका हुन् ।
खेलका ३ निर्णायक मध्ये दुईले पललाई ७९ र टायसनलाई ७३ अंक प्रदान गर्दा अर्को जजले ८०- ७२ अंक दिए । पुरै ८ राउण्डसम्म चलेको खेलमा टायसनले सुरुवाती २ राउण्ड जिते पनि त्यसपछि २७ वर्षीय पलले पुनरागमन गर्दै कमब्याक गरे ।
युट्युबरबाट बक्सर बनेका पल र ५८ वर्षीय टायसनबीच ३१ वर्षको उमेर भिन्नता छ । यस खेलका विजेता पलले ४० मिलियन र टायसनले २० मिलियन अमेरिकी डलर प्राप्त गरेका छन् ।
यसअघि टाइसनले आफ्नो अन्तिम व्यावसायिक खेल सन् २००५ मा केभिन म्याकब्राइडविरुद्ध खेलेका थिए । सो खेलमा उनी पराजित भएका थिए । यस खेलअघि टायसनले व्यावसायिक बक्सरका रूपमा ५० खेल जितेका थिए । उनले ४४ पटक विपक्षीलाई नकआउट गरेका थिए । उनले आफ्नो पुरै करियरमा केवल ६ खेल हारेका थिए ।
सन् १९८७ मा टाइसनले सबैभन्दा कान्छो हेभिवेट च्याम्पियन बनेका थिए । त्यो बेला उनी २० वर्षका थिए ।