काठमाडौं । लुम्बिनी लायन्स क्लबले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि जर्सी सार्वजनिक गरेको छ । लुम्बिनी लायन्सले शनिबार बुद्ध जन्मस्थल लुम्बिनीमा जर्सी सार्वजनिक गरेको हो ।
क्लबका मालिक ईश्वर जिसी, लुम्बिनी लायन्सका ब्राण्ड एम्बेस्डर महानायक राजेश हमाल र गायिका आनीछोइङ डोल्माले संयुक्त रूपमा जर्सी सार्वजनिक गर्नुभएको हो ।
लुम्बिनी प्रदेशको प्रतिनिधित्व हुने गरी र स्थानीय संस्कृति झल्किने गरि जर्सीको डिजाइन गरिएको आयोजकले बताएको छ । गाढा नीलो रङ्गको जर्सीमा सुनौलो रङ्गको किनारा छ भने बाँया भागमा आक्रामक अवतारको सिंहको टाउको प्रतीक रहेको छ ।
जर्सी अनावरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी आनी छोइङ डोल्माले भन्नुभयो- ‘आज हामो लुम्बिनी लायन्सको जर्सी औपचारिक रुपमा लोकार्पण भएको छ, यसमा मलाई एकदमै खुशी लागेको छ । जसरी संसार भरका सबै मानिसहरुको मनमा शान्ती फैलाउन भगवान बुद्धको भूमिका रहेको छ, त्यसै गरी लुम्बिनी लायन्सले पनि सबै जनाको मनमा विजय र गौरवको भावना महसुस गराउन सकोस भन्ने कामना गर्दछु।’
जर्सी सार्वजनिक कार्यक्रममा बोल्दै लुम्बिनी लायन्स क्लबका ब्राण्ड एम्बास्डर राजेश हमालले क्रिकेटले नेपाली मनलाई जोड्ने पुलको रुपमा काम गरेको बताउनु भयो ।
त्यस्तै, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले लुम्बिनीवासीको भावना र लुम्बिनीको ऐतिहासिक तथा संस्कृतिक महत्वलाई समेट्ने जर्सी भएको बताउनु भयो ।